Logo

नबिल बैंकले पहिलो त्रैमासमै कमायो २ अर्ब बढी नाफा, वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड

नबिल बैंकले पहिलो त्रैमासमै कमायो २ अर्ब बढी नाफा, वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड



काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५९ करोड रुपैयाँ धेरै हो । बैंकले गत वर्ष असोजसम्म १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप १५.५७ प्रतिशत र कर्जा लगानी ७.८४ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकको जगेडा कोषमा भने ३० अर्ब ५ करोड संचित छ । असोजसम्म बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ८.८२ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँबाट बढेर २९.८३ रुपैयाँ पुगेको छ । असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ, बेसरेट ७.०२ प्रतिशत छ । यस अवधिमा बैंकको खुद निष्क्रिय कर्जा १.४२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्