Logo

नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ सार्वजनिक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा यी कुराहरुमा ध्यान पुर्याउनैपर्ने

नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ सार्वजनिक, वित्तीय संस्थाले कर्जा लगानी गर्दा यी कुराहरुमा ध्यान पुर्याउनैपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको आधारमा हरित वित्त प्रवाहलाई प्रोत्साहन गर्न हरित वित्तीय कर निर्धारण प्रणाली (नेपाल ग्रिन फाइनान्स ट्याक्साेनाेमी २०२४ ) तयार पारेको छ । प्रणालीले हरित ऋणपत्र, जलवायु जोखिम प्रतिवेदन, र वित्तीय क्षेत्रका लागि आवश्यक पूँजी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित सन्दर्भ सामग्रीको रुपमा केन्द्रिय बैंकले यो सार्वजनिक गरेको हो ।

यो प्रणाली आर्थिक क्रियाकलाप, सम्पत्ति, परियोजना, र क्षेत्रहरूलाई ‘हरित’ वा वातावरणीय रूपमा दिगोका रूपमा वर्गीकरण गर्ने कुरामा सहयोगी बन्ने राष्ट्र बैंकले जानकारी दिएको छ । यसले वित्तीय क्षेत्रलाई आफुले गर्नुपर्ने हरित क्रियाकलाप पहिचान गर्न, अनुगमन गर्न, र प्रमाणित गर्न सहयोग पुर्याउने बताईएको छ । जसले नेपालको हरित, लचिलो, र समावेशी अर्थतन्त्रको विकासमा मद्दत पुर्याउनेछ ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा यो प्रणाली विकास गरिएको केन्द्रिय बैंकले जानकारी दिएको छ ।’

विभिन्न निकायहरूका नीतिनिर्माताहरू, सरकारी संगठनहरू, वित्तीय संस्थाहरू, व्यवसायहरू, परियोजना विकासकर्ताहरू, अन्तर्राष्ट्रिय संस्था, उद्योग विशेषज्ञहरू, र नागरिक समाजका प्रतिनिधिहरूले यस प्रक्रियामा सहभागिता जनाएका थिए ।
यस प्रणालीको मुख्य उद्देश्य भनेको वित्तीय क्षेत्रलाई हरित नवप्रवर्तनमा लगानी गर्न प्रेरित गर्ने र सम्पूर्ण वित्तीय प्रणालीलाई हरित बनाउने मार्गदर्शन र प्रोत्साहन प्रदान गर्नु हो । यो प्रणाली बैंकिङ तथा वित्तीय संस्थाहरू, पूँजी बजार, र बीमा क्षेत्रका समुदायहरूको अभ्यासलाई प्राथमिकता दिनेछ । साथै, यो प्रणाली निजी क्षेत्र, साना तथा मझौला उद्यम, पेन्सन कोष, ट्रस्ट कोष र अन्य वित्तीय क्षेत्रका खेलाडीहरूले पनि प्रयोग गर्न सक्नेछन् ।

पर्यावरणीय लक्ष्यहरूमा चार मुख्य सिद्धान्तहरू समावेश छन् । यी सिद्धान्तहरूमा जलवायु परिवर्तन अनुकूलन, जलवायु परिवर्तन न्यूनीकरण, प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन, र प्रदूषण रोकथाम तथा नियन्त्रण रहेका छन् । यी चार सिद्धान्तहरूको आधारमा आर्थिक क्रियाकलाप वर्गीकृत गरिनेछन् । साथै, कुनै पनि आर्थिक क्रियाकलापले वातावरणमा ‘गम्भीर हानी नगर्ने’ सुनिश्चित गर्नुपर्नेछ ।

यस प्रणालीले आर्थिक क्रियाकलापलाई ‘हरियो’ ‘पहेंलो’ वा ‘रातो’ को रूपमा वर्गीकृत गर्दछ । हरित क्रियाकलाप भनेको वातावरणीय लक्ष्यहरूलाई समर्थन गर्ने, पहेंलो भनेको सुधारको बाटोमा रहेको तर केही सुधारात्मक कदम आवश्यक पर्ने, र रातो भनेको वातावरणीय सिद्धान्तहरूको उल्लङ्घन गर्ने क्रियाकलाप हो ।

हरित वित्तीय कर निर्धारण प्रणालीले आर्थिक क्रियाकलापलाई पहिचान गर्न, अनुगमन गर्न, र प्रतिवेदन दिनको लागि मार्गदर्शन प्रदान गर्दछ । वित्तीय संस्थाहरूलाई आफ्नो लगानीको स्थिति पारदर्शी रूपमा प्रतिवेदन गर्न प्रोत्साहित गरिनेछ । आर्थिक गतिविधिहरूमा ‘रातो’ वर्गमा परेका गतिविधिहरूलाई सुधार गर्न र ‘पहेंलो’ वर्गमा परेकाहरूलाई हरित बनाउन थप उपायहरू सुझाउनुपर्नेछ ।

वित्तीय संस्थाहरुले हरित लगानीलाई प्राथमिकता दिनु पर्दछ, जसले राष्ट्रिय जलवायु कार्य लक्ष्यहरू पूरा गर्न सहयोग पुर्याउने बताईएको छ । साथै, हरित रोजगारी सिर्जना, फोहोर न्यूनीकरण, प्रदूषण रोकथाम, र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सुनिश्चित गर्न ध्यान दिनुपर्नेछ ।

यस प्रणालीको सफल कार्यान्वयनका लागि वित्तीय क्षेत्रका खेलाडीहरूले हरित वित्तीय कर निर्धारण प्रणालीलाई आत्मसात गर्नु आवश्यक छ ।

राष्ट्र बैंकले हाललाई यो मार्गदर्शन सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्न सकिने भएपनि आगामी दिनमा यसलाई कानुनको एक अंग बनाएर अघि बढाउने तयारी गरेको छ । यसका लागि सरकारसँग अनुरोध पनि गरिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

उनका अनुसार यसले विश्वभर बढिरहेको क्लाईमेट चेन्जले निम्त्याउने जोखिमहरुलाई न्यूनीकरण गर्नका लागि बैंक वित्तीय संस्थाहरुले गर्ने लगानीका क्षेत्रहरुलाई वर्गिकरण गर्नेदेखि विभिन्न दातृ निकायहरुबाट आउने फण्ड व्यवस्थापन गर्न सहयोगी भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्