Logo

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?



काठमाडौं । चालु आर्थिक बर्षको दुई महिना (साउन र भदौ)मै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार यी दुई महिनामा नेपालमा संचालित २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ बढी नाफा आर्जन गरेका हुन् ।

तथ्यांक अनुसार साउन र भदौ महिनामा नबिल बैंकले सबैभन्दा बढी अर्थात १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो बैंकले अन्य बैंकहरुको तुलनामा नाफामा उल्लेख्य प्रगति गरेको हो । यसअघि भदौमा अत्याधिक नाफा आर्जन गर्दै पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंकलाइ नबिलले उछिनेको हो । साउन महिनासम्म आईपुग्दा ग्लोबल आइएमई बैंक धेरै नाफा कमाउने दोस्रो बैंकको स्थानमा झरेको छ । यो बैंकले चालु आवको दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसै अवधिमा एनआइएमबि बैंकले १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख र कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यी ५ बैंकले पछिल्लो २ महिनामा १ अर्ब बढी नाफा आर्जन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको २ महिनामा प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै एनएमबि बैंकल ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्