Logo

१ बर्षमा २८ अर्बले बढ्यो घरकर्जा, रियलस्टेट कर्जा र सेयर कर्जामा पनि उल्लेख्य वृद्धि

१ बर्षमा २८ अर्बले बढ्यो घरकर्जा, रियलस्टेट कर्जा र सेयर कर्जामा पनि उल्लेख्य वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको भदौ मसान्तमा गत आर्थिक बर्षको यहि अवधिको तुलनामा घरकर्जा २८ अर्ब बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले चालु आर्थिक बर्षको भदौ मसान्तसम्म ३ खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ २ करोड माथिको घरकर्जा प्रवाह गरेका छन् ।

यस्तो कर्जा गत आवको भदौ मसान्तसम्म ३ खर्ब ६५ अर्ब २० करोड रुपैयाँ बराबर प्रवाह भएको थियो । यसरी २ करोडमाथिको घरकर्जा एक बर्षकै अवधिमा २८ अर्ब ४० करोड रुपैयाँले बढेको देखिन्छ । अझ चालु आवको दुई महिनामा मात्रै यस्तो कर्जा ६ अर्ब बढी थपिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

केन्द्रिय बैंकका अनुसार गत असार मसान्तसम्म ३ खर्ब ८७ अर्ब रुपैयाँ बराबर प्रवाह भएको यस्तो कर्जा त्यसको दुई महिनापश्चात अर्थात चालु आवको भदौ मसान्तसम्म ६ अर्ब ५८ करोड रुपैयाँले बढेर ३ अर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो ।
यससँगै गत आवको तुलनामा चालु आवको दुई महिनामा रियल स्टेट कर्जा पनि २१ अर्ब ९० करोड रुपैयाँले बढेको केन्द्रिय बैंकले जानकारी दिएको छ । गत आर्थिक बर्षको भदौ मसान्तसम्म २ खर्ब ४१ अर्ब रुपैयाँ रियल स्टेट कर्जा प्रवाह भएकोमा चालु आवको भदौसम्म पुग्दा यस्तो कर्जा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबर पुगेको हो ।

खासगरी पछिल्लो समय बैंक वित्तीय संस्थाहरुमा तरलता फालाफाल भएको र कर्जा प्रवाह न्यून भएको बताईँदै आएको छ । तर, केन्द्रिय बैंकको तथ्यांकले वित्तीय संस्थाहरुमा बढेको निक्षेपसँगै कर्जा पनि बढिरहेको देखिन्छ ।

विभिन्न क्षेत्रमा जाने कर्जाहरुमध्ये चालु आवको भदौसम्म गत आवको सोही अवधिको तुलनामा ओभरड्राफ्ट, हायरपर्चेज, चालुपुँजी तथा विपन्न वर्ग कर्जामा गिरावट आएपनि अन्य सबै क्षेत्रमा कर्जा प्रवाह बढेको देखिन्छ ।

उद्योगी व्यापारीहरुले चालु पुँजी कर्जामा विवाद कायमै रहेको बताउँदै आएका छन् । तर, केन्द्रिय बैंकले यो प्रकृतिको कर्जामा उद्योगी व्यवसायीहरुलाई झन सहजीकरण गरिएको बताएपनि यो कर्जातर्फ आकर्षण नभएको पाईएको छ ।

यता यहि अवधिमा सेयर धितो (मार्जिन प्रकृति) कर्जा पनि २२ अर्ब ७ करोड रुपैयाँले बढेको देखिन्छ । गत आवको भदौ मसान्तसम्म ७७ अर्ब ६८ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएकोमा चालु आवको भदौसम्म बढ्दै ९९ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्