Logo

भदौका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कतिमा झर्यो ?

भदौका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कतिमा झर्यो ?



काठमाडौं । आगामी भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकमा बढिरहेको तरलता र कर्जा लगानीमा देखिएको संकुचनका कारण पछिल्लो समय बैंकहरुले लगातार व्याजदर घटाईरहेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौका लागि भन्दै साउनको तुलनामा मुद्धती निक्षेपको ब्याजदर औसतमा ०.२१ प्रतिशत विन्दुले घटेको हो । २० वाणिज्य बैंकहरुको साउनको औसत ब्याजदर ६.७४ प्रतिशत रहेकोमा भदौका लागि घट्दै ६.५३ प्रतिशत कायम भएको हो ।

खासगरी भदौका लागि भन्दै साउनको तुलनामा १३ बैंकले आफ्नो ब्याजदर घटाएका छन् । यस्तै ५ बैंकहरुले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् अर्थात उनिहरुले भदौमा पनि साउनकै बराबर ब्याजदर लिनेछन् । यता २ बैंकले भने आफ्नो ब्याजदर केहि बढाएको तथ्यांकमा उल्लेख छ । बैंक ब्याजदर घटाउने बैंकहरुमध्ये नेपाल बैंकले सबैभन्दा बढी अर्थात १ प्रतिशत विन्दुले आफ्नो ब्याजदर घटाएको हो । यसअघि साउनमा मुद्धती निक्षेपमा ६.२५ प्रतिशत ब्याज दिईरहेको बैंकले भदौमा जम्मा ५.२५ प्रतिशत मात्रै दिने भएको हो ।

यस्तै कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबै बैंक र एनआइसी एशिया बैंकले साउनको तुलनामा भदौका लागि ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले भने भदौमा पनि साउनकै बराबर ब्याजदर दिनेछन् ।

तर, यसै अवधिमा प्राइम कमर्शियल बैंक र कुमारी बैंकले भने साउनको तुलनामा भदौका लागि आफ्नो ब्याजदरमा क्रमश: ०.२५ र ०‍.५ प्रतिशत विन्दुले बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्