Logo

एनएमबी बैंकको नाफा दुई अर्ब ३३ करोड, रिजर्भ कोषमा १० अर्ब ४६ करोड रुपैयाँ

एनएमबी बैंकको नाफा दुई अर्ब ३३ करोड, रिजर्भ कोषमा १० अर्ब ४६ करोड रुपैयाँ



काठमाडौँ । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ झण्डै २ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको सो वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण अनुसार सो नाफा देखिएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको उक्त नाफा हाल रहेको १८ अर्ब ३६ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १२.७२ रुपैयाँ हो । यो वर्ष बैंकको ब्याज आम्दानीमा आएको गिरावट र निष्क्रिय कर्जासँगै इम्पेरिमेन्ट चार्ज बढ्दा नाफामा गिरावट देखिएको छ । अघिल्लो वर्ष ८ अर्ब ३४ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष ७ अर्ब ४९ करोड आम्दानी गरेको छ । त्यस्तै, शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष १ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ६७ करोड पुगेको देखिन्छ ।

खर्च व्यवस्थापनमा यो वर्ष बैंक संयमित देखिएको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रहेको कर्मचारी खर्च बढेर २ अर्ब ६४ करोडमा झरेको छ । त्यस्तै, अघिल्लो वर्ष १ अर्ब १९ करोड रहेको सञ्चालन खर्च बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यो वर्ष नाफामा गिरावट आएको बैंकको वितरणयोग्य नाफा २३ करोड रुपैयाँ बराबर रहेको छ । यो भनेको प्रतिशेयर १.३० प्रतिशत बराबर हो । अघिल्लो वर्ष यो रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.२७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष २.७५ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १२.८२ प्रतिशत, कस्ट अफ फण्ड ७.३१ प्रतिशत, बेसरेट ८.४२ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९९ प्रतिशत रहेको देखिन्छ ।

बैंकले यो अवधिमा २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः २ खर्ब १० अर्ब र १ खर्ब ८९ अर्ब रुपैयाँ थियो ।

अहिले बैंकको रिजर्भ कोषमा १० अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ १५८.२७ रुपैयाँ रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL