काठमाडौँ । हिमालयन बैंकको नाफा झण्डै ८१ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरणको आधारमा यस्तो नाफा देखिएको हो ।
अघिल्लो वर्ष बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष यस्तो नाफा २ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो । बैंकको हाल रहेको २१ अर्ब ६५ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १३.१० प्रतिशत हो ।
यसरी नाफा बढ्नुमा बैंकको इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने प्रोभिजन घट्नु मुख्य कारण देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब ८६ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष २ अर्ब ७८ करोड मात्रै छुट्याएको छ ।
यो अवधिमा खुद ब्याज आम्दानी, शुल्क तथा कमिसनसम्बन्धी आम्दानी, व्यापारमूलक आम्दानी र अन्य आम्दानी सबै बढेको छ । अघिल्लो वर्ष ९ अर्ब ९२ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष ११ अर्ब ६१ करोड आम्दानी गरेको छ । त्यस्तै शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष ९६ करोड रहेकोमा यो वर्ष १ अर्ब ४ करोड रहेको देखिन्छ ।
बैंकको कर्मचारी सञ्चालन खर्च पनि यो वर्ष ह्वात्तै बढेको छ । अघिल्लो वर्ष २ अर्ब ६ करोड रहेको कर्मचारी खर्च बढेर ३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ७ करोड रहेको सञ्चालन खर्च बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
नाफामा उल्लेख्य सुधार भए पनि बैंकको वितरणयोग्य नाफा भने नकारात्मक छ । रेगुलेटरी रिजर्भ तथा अन्य रिजर्भमा ठूलो रकम छुट्याउनु पर्दा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ७८ करोड रुपैयाँले नकारात्मक देखिएको हो । अघिल्लो वर्ष यो रकम ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।
वितरण योग्न नाफामा नाकारात्मक भएसँगै नेगेटिभ रिटेर्न अर्निङ रहेको बैंकसँग रिजर्भमा २२ अर्ब रुपैयाँ रहेको देखिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको देखिन्छ ।