Logo

वैदेशिक रोजगार बचतपत्रमा न्युन आकर्षण, १३ बर्षमा साढे १५ अर्ब निष्काशन हुँदा ७६ करोडको मात्रै विक्री

वैदेशिक रोजगार बचतपत्रमा न्युन आकर्षण, १३ बर्षमा साढे १५ अर्ब निष्काशन हुँदा ७६ करोडको मात्रै विक्री



काठमाडौं । विदेशमा श्रम गरिरहेका नेपाली नागरिकहरुका लागि जारी हुने वैदेशिक रोजगार बचतपत्रमा न्युन आकर्षण रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालमा हालसम्म निष्काशन भएका वैदेशिक रोजगार बचतपत्रको तुलनामा यसको विक्री झण्डै ५ प्रतिशत मात्रै छ ।

सरकारले आन्तरिक ऋण परिचालनमा सहयोग पुर्याउन र विदेशबाट आउने रेमिट्यान्स वैधानिक च्यानलबाट आओस भन्नका निम्ती आर्थिक बर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्काशन सुरु गरेको थियो । त्यसयता आर्थिक बर्ष २०७९/८० सम्म आर्थिक वर्ष २०७५/७६ बाहेक हालसम्म १३ वर्षहरुमा बैंकले २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको यस्तो बचतपत्र आह्वान गरेका छन् ।

त्यसमधये हालसम्म जम्मा ७६ करोड २३ लाख (अर्थात् कुल निष्काशनको ४.९ प्रतिशत मात्रै) बिक्री भएको छ ।
बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित रुपमा हुन नसकेको राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

यो बचतपत्र निष्काशन गरिएको पहिलो वर्ष २०६६/६७ मा १ अर्ब रुपैयाँको बचतपत्र आव्हान भएकोमा ४० लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब निष्काशन आव्हान भएकोमा ३३ लाख मात्र बिक्री भयो ।
त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आव्हान ५० करोड भन्दा कम भएको देखिन्छ । यस अवधिमा निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रहरु ५ वर्ष अवधिको रहेका छन् ।

सरकारले वैदेशिक रोजगार बचतपत्रलाई आकर्षक बनाई बढी भन्दा बढी ऋण परिचालन गर्ने उद्देश्यले यस्तो बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्षको बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा प्रदान गरिने ब्याजदरको तुलनामा उच्च रहने गरेको छ ।

यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म बढी रहेको देखिन्छ । तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित रुपमा परेको देखिदैन । अर्थात मुद्धती निक्षेको तुलनामा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर उच्च हुँदा पनि वैदेशिक रोजगारीमा गएका नागरिकले यसको भेउ पाउन नसकिएको देखिन्छ ।

किन भएन आकर्षण ?

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार धेरैजसो लगानीकर्ताले यसको भेउ नपाउँदा नै यसमा आकर्षण बढ्न नसकेको बताएका छन् । राष्ट्र बैंकले नमुना सर्वेक्षण अनुसार वैदेशिक रोजगारीबाट फर्केका र वैदेशिक रोजगारीमा जान लागेका नेपाली करिव ३ सय बढी नागरिकहरुलाई सर्भेक्षणमा समावेश गरेको थियो । त्यसमध्ये धेरैजसो नेपाली नागरिकहरुले यसको बारेमा जानकारी नभएकै कारण लगानी नगरिएको बताएका थिए ।

वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारण उल्लेख गरेका छन् । अर्थात अध्ययनले यस्तो बचतपत्र निष्काशन गर्दा सरल तरिकाले लगानी गर्न सक्ने वातावरण र उचित प्रचार प्रसारको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

आकर्षण बढाउन के गर्ने ?

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई वैदेशिक रोजगार बचतपत्रमा आकर्षण बढाउनका लागि राष्ट्र बैंकको अध्ययनले विभिन्न बुँदामा सहजीकरणको सुझाव दिएको छ । जसमा नीतिगत सुधार, प्रक्रियागत सुधार र प्रचारप्रसारमा जोड दिने कुरालाई प्राथमिकतामा राखिएको छ ।

वैदेशिक रोजगार बचतपत्र खरिद गरिसकेका लगानीकर्ताले प्रमाणपत्र र पाकेको ब्याज पाउन झन्झटिलो हुने, निष्काशन भएको जानकारी नहुने, जानकारी भएपनि पैसाको अभाव हुनेलगायतका कारण देखाएपछि राष्ट्र बैंकले सोही अनुसारका सुझावहरु समावेश गरिदिएको हो । जसमा वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने कुरालाई जोड दिईएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने । यद्यपी, कतिपय मुलुकहरुको कानूनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम संझौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने कुरा सुझावमा समेटिएको छ ।

यस्तै प्रक्रियागत सहजीकरणमा भने बचतपत्रको प्रमाणपत्र तत्काल अर्थात अनलाईनमै उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने, ब्याज सिधै बैंक खातामा आउने व्यवस्था मिलाउनुपर्ने र अब बचतपत्र विक्री नभएसम्म खुला राख्ने व्यवस्था मिलाउन सुझाव दिईएको छ ।

आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको हिस्सा

नेपाल सरकारले बजेट घाटा परिपूर्तिको लागि आन्तरिक ऋण परिचालनमा हाल टे«जरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र प्रचलनमा ल्याएको छ ।

यी उपकरणहरु मध्ये टे«जरी बिल्स र विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उठाउने प्रयोजनको लागि र नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र नेपाली नागरिकबाट ऋण उठाउने प्रयोजनको लागि निष्काशन हुने गरेको छ ।

पछिल्लो पाँच वर्षको नेपाल सरकारको आन्तरिक ऋणको आकार विश्लेषण गर्दा बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा सरकारले ४३.३३ अर्ब आन्तरिक ऋण परिचालन गरेकोमा आव २०७९/८० मा आइपुग्दा २५६ अर्ब पुगेको छ । सरकारको आन्तरिक ऋणको आकार बढ्दै गएको तुलनामा वैदेशिक रोजगार बचतपत्रको आकार बढ्न नसकेकोले यसको योगदान आव २०७१/७२ मा ०.१९ प्रतिशत रहेकोमा क्रमशः घट्दै आब २०७९/८० मा ०.०१ प्रतिशतमा झरेको छ ।

यसरी गर्न सकिन्छ लगानी

प्रत्येक वर्ष वार्षिक बजेटबाट निर्धारित आन्तरिक ऋण परिचालनमा नेपाल सरकार, अर्थमन्त्रालयले आन्तरिक ऋण उपकरण, रकम र निष्काशन मिति अग्रिम निर्धारण गरी सो अनुसार निष्काशन आव्हान हुने व्यवस्था रहेको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको हकमा ब्याजदर समेत सरकारले अग्रिम निर्धारण गर्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि, २०६९ (दोश्रो संशोधन, २०७६) अनुसार वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट फर्किएको ६ महिना व्यतित हुन बाँकी नेपाली नागरिक तथा निजका एकाघर परिवारका सदस्य र गैर आवासीय नेपालीले समेत बिक्री एजेण्टमार्फत् यस्तो बचतपत्र खरिद गर्न पाउने व्यवस्था रहेको छ । यस्तो बचतपत्र कम्तिमा १० हजार देखि निष्काशन भएको कुल रकममा १० हजारले निशेष भाग जाने अंक बराबरसम्म खरिन गर्द सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्