Logo

बैंकले साउनमा उठेको ब्याज पनि गत आवको आम्दानीमा गणना गर्न पाउने, ब्यालेन्स सिट २१ गतेभित्रै जारी गर्नुपर्ने

बैंकले साउनमा उठेको ब्याज पनि गत आवको आम्दानीमा गणना गर्न पाउने, ब्यालेन्स सिट २१ गतेभित्रै जारी गर्नुपर्ने



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले गत आवको असारसम्ममा पाकिसकेको तथा साउनमा उठेको ब्याज पनि गत आवको आम्दानीमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक अन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै अब गत आवको असार मसान्तसम्म पाकिसकेको तर उठ्न बाँकी रहेको ब्याज साउनभरीमा उठेमा त्यस्तो ब्याजलाई गत आवकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।

सूचनामा इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम गत आवमा प्रोदभावी आधारमा लेखांकन गरिएको व्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको व्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ ।

यस्तै हालसम्म एनएफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा गत आवको असार मसान्तसम्ममा पाकेको व्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले गत आवको नाफा नोक्सान हिसावमा आम्दानी जनाउन पाउने कुरा पनि उल्लेख गरिएको छ ।

यसअघि साउन १५ सम्म उठेको यस्तो ब्याजलाई आम्दानीमा गणना गर्न पाईने व्यवस्था रहेपनि राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार अब साउन मसान्तसम्मै लम्ब्याएको हो ।

आफ्नो वासलात अर्थात वित्तीय विवरणमा कुनै बैंकहरुले यस्तो आम्दानी देखाउन चाहेको खण्डमा देखाउन सकिनेगरी व्यवस्था गरिएको छ ।

स्रोतका अनुसार यस्तो व्यवस्था बैंकहरुले मान्नैपर्छ भन्ने छैन । उनिहरुले इच्छा लागेमा गत आवको आम्दानीमा यस्तो ब्याज आम्दानी गणना गर्न पाउने छन् । तर, बैंकहरुले आफ्नो वित्तीय विवरण भने असार २१ भित्रै जारी गरिसक्नुपर्ने छ । तर, आगामी दिनमा अडिट रिपोर्टमा भने साउन मसान्तसम्म उठेको ब्याजलाई आम्दानीमा गणना गर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्