Logo

गत बर्ष वाणिज्य बैंकहरुले संकलन गरे ५७ खर्ब ५४ अर्ब निक्षेप, कर्जा प्रवाहमा ५.८६ प्रतिशतको वृद्धि (कसको कति ?)

गत बर्ष वाणिज्य बैंकहरुले संकलन गरे ५७ खर्ब ५४ अर्ब निक्षेप, कर्जा प्रवाहमा ५.८६ प्रतिशतको वृद्धि (कसको कति ?)



काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालमा संचालित वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा उनिहरुले गरेको निक्षेप संकलन अघिल्लाे आर्थिक बर्षकाे तुलनामा १३.१५ प्रतिशतले बढी हो ।

तथ्यांक अनुसार १ वर्षको अवधिमा बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो पनि अघिल्लो आवको तुलनामा ५.८६ प्रतिशतले मात्र बढेको हो ।

निक्षेप संकलन गर्ने बैंकको सूचीको पहिलो स्थानमा ग्लोबल आइएमई बैंक छ । उक्त बैंकले एक बर्षको अवधिमा ५ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै दोस्रोमा नबिल बैंकले ४ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप संकलन पनि ४ अर्बभन्दा माथि छ ।

यस अवधिमा सबैभन्दा कम निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले १ बर्षमा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको हो ।

असार मसान्तसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो अर्थात निक्षेप र कर्जाको अनुपात ६० प्रतिशतसम्म पनि झरेका तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतसम्म कायम हुन पाउँछ । २०८१ असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.७७ प्रतिशतमा झरेको छ । यस्तै, नेपाल बैंकको ७२.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ७४.३५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७५.८७ प्रतिशत सीडी रेसियो छ ।

८० प्रतिशतभन्दा तल सीडी रेसियो हुनेमा स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कृषि विकास, एनआइसी एसिया, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु र सानिमा बैंक छन् । सबैभन्दा धेरै सीडी रेसियो प्राइम कमर्सियल बैंकको रहेको छ । यसअवधिमा प्राइमको सीडी रेसियो भने ८६.२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्