Logo

लघुवित्तका ऋणीलाई २ वर्गमा विभाजन, तपाईँ कस्तो वर्गमा पर्नुभयो ?

लघुवित्तका ऋणीलाई २ वर्गमा विभाजन, तपाईँ कस्तो वर्गमा पर्नुभयो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट ऋण लिएर नतिर्ने ऋणीलाई दुई वर्गमा विभाजन गरेको छ । लघुवित्त वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले ऋण नतिर्ने ग्राहकलाई वर्गिकरण गरेको हो ।

जसअनुसार अब जानी जानी ऋण नतिर्ने र परिस्थीतिजन्य कारणले ऋण नतिर्ने ग्राहकहरु छुट्याएर सोही अनुसार कर्जा असुलीको औजार प्रयोग गरिने भएको हो ।

परिपत्र अनुसार ऋणीहरुलाई अब नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु र परिस्थिीतिवश ऋण नतिर्ने ऋणीहरुमा गणना गरिने भएको छ ।

अब भुक्तानीको भाखा नाघेको १ वर्षसम्म पनि संस्थाको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका र भुक्तानीको प्रतिबद्धता जाहेर नगरेका ऋणीहरुलाई नियतपूर्वक ऋण नतिर्ने ऋणीमा गनिने छ ।

यस्तै संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै पनि बिक्री गर्न नखोज्ने वा नदिने अवस्था सिर्जना गरेका, आफूसँग भएको अन्य सम्पत्ति ऋण तिर्नमा प्रयोग नगरेका, संस्थाबाट जुन परियोजनाको लागि ऋण लिएको हो उक्त ऋण त्यसमा प्रयोग नगरी अन्य उद्देश्यमा प्रयोग गरेका ऋणीहरु यो वर्गमा पर्नेछन् ।

त्यस्तै व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेका तथा अन्य सम्पत्ति सिर्जना गरेका, पारिवारिक आय, धितो वा व्यवसायको सन्दर्भमा जानीबुझी झुठो विवरण प्रदान गरेका, ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएका ऋणीहरुलाई पहिलो वर्गमा वर्गिकरण गरिएको छ ।

ऋण प्रदान गर्ने संस्थाका कर्मचारीसँग/लाई मिलीमतो गरी/दुरुत्साहित गरी वा अन्य गैरकानुनी लेनदेन गरी ऋण लिएका र नतिर्नका लागि अवाञ्छित दबाब दिने गरेका, ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएका ऋणीहरुलाई पनि यो वर्गमा वर्गिकरण गरिएको छ ।

यता परिस्थितीवस ऋण नतिरेका ऋणीहरुमा भने ऋण तिर्ने मनसाय हुँदाहुँदै पनि काबु बाहिरको परिस्थिति, असहज आर्थिक, व्यापारिक तथा औद्योगिक अवस्था वा प्रतिकुल आन्तरिक/बाह्य अवस्था वा प्राकृतिक प्रकोपका कारण व्यवसाय वा पारिवारिक आयमा कमि आई वा समस्याग्रस्त बनी ऋण तिर्न नसकेका, बैंकको निरन्तर सम्पर्कमा रहि एकभन्दा बढी व्यवसायको श्रोतबाट आर्जित प्रतिफल तथा आफूसँग भएको अन्य सम्पत्ति/धितो बिक्री गर्न पहल गरेका र यस्तो पहल पर्याप्त हुँदा समेत कर्जा तिर्न असमर्थ भएका ऋणीलाई राखिएको छ । यस्तै नेपाल सरकारले ग्राहकको जायजेथा तथा व्यवसाय सञ्चालनमा रहेको स्थान अधिग्रहण गरेका ऋणीहरु पनि यो वर्गमा पर्नेछन् ।

यसरी ऋणीलाई वर्गिकृत गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीहरुलाई कालोसूचीमा राख्न सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । तर कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भएतापनि यदि केही समय प्रदान गरेमा ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा ६ महिनाको लागि कालोसूचीबाट हटाउने व्यवस्था गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

६ महिनाभित्र ऋण चुक्ता नगरेमा अनिवार्य रुपमा कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्ने व्यवस्था परिपत्रले गरेको छ ।

कर्जा प्रवाह गर्दा लिईने सेवा शुल्क घट्यो

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले ग्राहकलाई कर्जा लगानी गर्दा लिने गरेको सेवाशुल्क घटेको छ । यसअघि राष्ट्र बैंकले कर्जाको १.५० प्रतिशतसम्म सेवाशुल्क लिन पाउने व्यवस्था गरेकोमा अब १.३ प्रतिशत मात्रै सेवासुल्क लिन पाईने भएको छ ।
यस्तै कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाहरुले अब स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न नपाउने भएका छन् ।

अब एउटै ग्राहकले दुई संस्थाबाट ऋण लिन पाउने

अब लघुवित्त संस्थाका एउटै ग्राहकले २ ओटासम्म संस्थाबाट ऋण उपयोग गर्न पाउने भएका छन् । यसअघि एउटा ऋणीलाई एउटामात्रै संस्थाबाट ऋण लिन पाईने व्यवस्था रहेकोमा राष्ट्र बैंकले परिपत्र जारी गर्र्दै बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।

पारिवारिक जमानीमै २५ हजारसम्म ऋण पाईने

अब लघुवित्त संस्थाका ग्राहकले २५ हजार रुपैयाँसम्मको कर्जा पारिवारिक जमानीमै पाउने भएका छन् । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रति समूह सदस्य बढीमा ५ लाख सम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यव्सथा यसअघि छ ।

यस्तै विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँ सीमा कायम गरिएको छ । तर प्रति परिवार २५ हजारसम्मको कर्जा पारिवारिक जमानीमा मात्र समेत प्रदान गर्नसकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्