Logo

ज्योति विकास बैंक १७ औं बर्षमा प्रवेश, परिमार्जित नयाँ वेबसाइट सार्वजनिक

ज्योति विकास बैंक १७ औं बर्षमा प्रवेश, परिमार्जित नयाँ वेबसाइट सार्वजनिक



काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ आधिकारिक वेबसाईट सार्वजनिक गरेको छ । आफ्नो स्थापनाको १६औं वार्षिकोत्सवको अवसरामा बुधबार आयोजित कार्यक्रममा परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको औपचारिक शुभारम्भ गरेको हो । बैंकका संचालक अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गरेका हुन् ।

उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा–सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको छ । अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदर–पत्र प्रदान गरेका छन् ।

कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने ग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे ।
त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सिर्जना, सिप अभिवृद्धि र समाज परिवर्तनको परिकल्पनाका साथ गरिएका विभिन्न कार्यक्रममा पनि प्रकाश पारे ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । २०६५ साउन ९ गते स्थापना भएको बैंक १६ वर्षको सफल यात्रा पूरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL