Logo

एक महिनामै १६ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा, जेठमा आर्जन गरे पौने ८ अर्ब, नबिल अगाडी ग्लोबल पछ्याउँदै

एक महिनामै १६ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा, जेठमा आर्जन गरे पौने ८ अर्ब, नबिल अगाडी ग्लोबल पछ्याउँदै



काठमाडौं । चालु आर्थिक बर्षको एक महिनामा वाणिज्य बैंकहरुको खुद मुनाफा १६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार जेठमा सबै वाणिज्य बैंकहरुको खुद मुनाफा बैशाखको तुलनामा १६.१४ प्रतिशतले बढेको हो । अर्थात गएको बैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेका वाणिज्य बैंकहरुले जेठमा यस्तो मुनाफा बढाएर ५६ अर्ब ४५ करोड रुपैयाँ पुर्याएका हुन् ।

यसरी हेर्दा नेपालमा संचालित २० वाणिज्य बैंकहरुले जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका हुन् । तर गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने वाणिज्य बैंकहरुको खुद मुनाफा ११ प्रतिशतले कम हो ।
गत आवको जेठ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । गत आवको सोही अवधिको तुलनामा चालु आवको जेठ मसान्तसम्म विभिन्न १४ वाणिज्य बैंकहरुको नाफा ओरालो लागेको छ भने जम्मा ६ वाणिज्य बैंकको मात्रै नाफा उकालो लागेको हो ।

यसरी एक बर्षको अवधिमा नाफा उकालो लाग्ने बैंकहरुमा भने कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट, प्रभु, सिटिजन्स र सिद्धार्थ बैंक छन् । यीनीहरुको नाफा गत आवको सोही अवधिको तुलनामा क्रमशः ९३, १०, ८, ४, ४ र १ प्रतिशतले बढेको छ ।

यस्तै यसै अवधिमा नेपाल बैंकले भने आफ्नो नाफा उच्च अंकले घटाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा यो बैंकको खुद नाफा ६५ प्रतिशतले घटेको छ । यस्तै यसै अवधिमा एनआईसी एशिया बैंकले ५१ प्रतिशत, कुमारी बैंकले ४३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले३१ प्रतिशत, लक्ष्मी सनराइजले २७ प्रतिशत र माछापुच्छ्ररे बैंकले २३ प्रतिशतले मुनाफा घटाएका छन् ।

यस्तै यसै अवधिमा ग्लोबल आइएमई बैंकको खुद नाफा २१ प्रतिशतले घट्दा नेपाल एसबिआई बैंकको नाफा २० प्रतिशत, एनएमबि को १६ प्रतिशत, हिमालयनको १६ प्रतिशत, नबिलको १० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ प्रतिशतले खुद नाफा ओरालो लागेको हो ।

नबिल अगाडी ग्लोबल पछ्याउँदै

चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकको पहिलो सूचिमा नबिल बैंक रहेको छ । राष्ट्र बैंकका अनुसार यो बैंकले पछिल्लो ११ महिनामा ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यसरी नबिल बैंकले सबैभन्दा ठुलो मानिएको ग्लोबल आइएमई बैंकलाई पनि खुद नाफामा पछि पारेको छ ।

यस अवधिमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै यसै अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ३८ करोड, प्राइम कमर्शियलले ३ अर्ब ५५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक बर्षभरी नेपालका सबै वाणिज्य बैंकहरुले ७० अर्ब ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्