Logo

मैले भविष्यवाणी गरे अनुसारकै मौद्रिक नीति आउँछ भन्ने ग्यारेन्टी हुँदैन : गभर्नर अधिकारी

मैले भविष्यवाणी गरे अनुसारकै मौद्रिक नीति आउँछ भन्ने ग्यारेन्टी हुँदैन : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिल्यै मौद्रिक नीतिको भविष्यवाणी गर्न नसकिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणज्य महासंघले आयोजना गरेको आगामी आर्थिक बर्षको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भविष्यवाणी गरिएकोजस्तो मौद्रिक नीति नआउने बताएका हुन् ।

‘पछि आउने मौद्रिक नीतिको अहिल्यै भविष्यवाणी गर्न सकिँदैन, यस्तो आउँछ या उस्तो आउँछ भन्न सकिने अवस्था पनि रहँदैन,’ उनले भने, ‘अझ मैले यस्ता व्यवस्थाहरु समेटिनेछन भनेर अहिल्यै भनेँ भनेपनि ति व्यवस्थाहरु नीतिमा नसमेटिन सक्छन् । ’

उनले मौद्रिक नीतिको अन्तिम तयारीमा रहेकाले सबै क्षेत्रसँग सुझाव लिने कार्य करिव सम्पन्न भईसकेको बताए । आगामी साउनको पहिलो या दोस्रो हप्तामा नीति सार्वजनिक हुने संकेत गर्दै उनले हाल नीतिको गहन छलफल भईरहेको बताए ।
कार्यक्रममा उनले धेरै व्यवसायीबाट महत्वपूर्ण सुझावहरु पाईएको बताउँदै सुझावहरुलाई सकेसम्म समेट्ने प्रयास गरिनेसमेत बताएका छन् ।

महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा करिव दर्जन बढी उद्योगी व्यवसायीले आफ्ना गुनासा तथा सुझावहरु राखेका थिए । धेरैजसो सुझावहरु आगामी आर्थिक बर्षको मौद्रिक नीति लचक आउनुपर्ने तर्फ केन्द्रित थिए ।

यस्तै धेरैजसो उद्योगी व्यवसायीले हाल आर्थिक संकुचनका बीच सबैजसो क्षेत्र धराशायीको अवस्थामा रहेकाले बैंकको ब्याज र सावाँ भुक्तानीमा समस्या भएकाले यसमा केहि सहजीकरण गरिनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL