Logo

बैशाखमै वाणिज्य बैंकहरुले किने १३ अर्वको सेयर, १० महिनाको नाफा ५३ अर्व

बैशाखमै वाणिज्य बैंकहरुले किने १३ अर्वको सेयर, १० महिनाको नाफा ५३ अर्व



काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले बैशाखमा मात्रै साढे १३ अर्ब रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा संचालित वाणिज्य बैंकहरुले बैशाखमा १३ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेका हुन् ।

तथ्यांकलाई आधार मान्दा गत चैतसम्म वाणिज्य बैंकहरुले २ खर्ब ८४ अर्ब रुपैयाँ बराबर सेयरमा लगानी गरेका थिए । बैशाख मसान्तसम्म आउँदा उक्त लगानी ५.०१ प्रतिशतले थप भएको हो ।

वाणिज्य बैंकहरुल चैतको तुलनामा बैशाखमा सरकारी कोषमा गरिने लगानी करिव १० प्रतिशतले थप गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा गत चैत मसान्तसम्म सरकारी कोषहरुमा १० खर्ब लगानी गरेको वाणिज्य बैंकहरुले बैशाख मसान्तसम्म ११ खर्ब ८ अर्ब रुपैयाँ बराबरको लगानी पुर्याएका छन् । यसअर्थ बैशाखमा मात्रै वाणिज्य बैंकहरुले करकारी कोषहरुमा १ खर्ब ८ अर्ब रुपैयाँ थप लगानी गरेका हुन् ।

वाणिज्य बैंकहरुले यसरी लगानी बढाएपनि कर्जा प्रवाहमा भने पछाडी परेका छन् । चालु आवको बैशाखमा चैतको तुलनामा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा ०.२९ प्रतिशतले घटाएका हुन् । यसरी हेर्दा वाणिज्य बैंकहरुले निजी क्षेत्रलाई प्रवाह गर्ने कर्जा ०.१६ प्रतिशतले, वित्तीय संस्थाहरुलाई ३.०४ प्रतिशतले र सरकारी संस्थाहरुलाई प्रवाह गर्ने कर्जा ११ प्रतिशतले घटाएका हुन् ।

खासगरी वाणिज्य बैंकहरुले कर्जा प्रवाह नगरेकै कारण बैंकहरुमा तरलता थुप्रिरहेको छ । कोरोना महामारीपछि बैंकहरुले प्रवाह गरेको कर्जा उठौतिमा समस्या परेपछि हाल बैंकहरुले कर्जा प्रवाह गर्न हच्किएका छन् । जसका कारण कर्जा प्रवाह रोकिएको जस्तो देखिन्छ । यसरी कर्जा प्रवाह रोकिँदा वाणिज्य बैंकहरुमा बैशाख मसान्तसम्म ४ खर्ब ३५ अर्ब बढीको तरलता संचित छ ।

कर्जा प्रवाह न्यून भएपनि बैंकहरुले गर्ने लगानी बढिरहँदा र बजारबाट उठेको पैसा बैंकमै थुप्रिँदा वाणिज्य बैंकहरुको चालु आबको बैशाख मसान्तसम्म नाफा ४८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो गएको चैतको तुलनामा १९.४८ प्रतिशतले बढी हो । अर्थात वाणिज्य बैंकहरुले बैशाखमा मात्रै ८ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेका हुन् । यसरी वाणिज्य बैंकहरुको नाफा बढ्नमा बैंकहरुको गैर संचालन खर्च घट्नुलाई पनि मुख्य मानिएको छ ।

चालु आवको चैतको तुलनामा बैशाखमा वाणिज्य बैंकहरुले यस्तो खर्च ८.८३ प्रतिशतले घटाएका हुन् । यद्यपी बैशाखमा वाणिज्य बैंकहरुको कमिशन खर्च १३ प्रतिशतले, कार्यालय संचालन खर्च १२ प्रतिशतले, कर्मचारी खर्च १० प्रतिशतले र ब्याज खर्च १० प्रतिशतले बढेको छ ।

तर, यसै अवधिमा वाणिज्य बैंकहरुको ब्याज आम्दानी १० प्रतिशतले, कमिशन तथा छुट १० प्रतिशतले, मुद्र सटही दरमा परिवर्तन आउँदाको आम्दानी १० प्रतिशतले बढेको छ । अन्य खर्चबाट फिर्ता आएको रकममा यस अवधिमा ५३ प्रतिशतको वृद्धि वाणिज्य बैंकहरुमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL