Logo

सम्पत्ति शुद्धीकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकीकृत दुई निर्देशिका जारी

सम्पत्ति शुद्धीकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकीकृत दुई निर्देशिका जारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै शुक्रबार मात्रै विभिन्न दुई निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कम्पनीका लागि पहिलोपटक र कर्मचारी संचय कोष र नागरिक लगानी कोषका लागि संशोधित निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले पहिलोपटक जारी गरेको हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा ग्राहक पहिचान गर्ने संयन्त्रमा कडाई गर्न निर्देशन दिएको छ । जसमा उच्च पदस्थ व्यक्तिको सम्पूर्ण विवरणको विश्लेषण, थपघट भएको अवस्थामा तत्काल पहिचान हुने संयन्त्रलगायतका क्रियाकलापलाई थप सशक्त बनाउन निर्देशन जारी गरिएको हो ।

हायरपर्चेज सुविधा दिने कम्पनीहरुले राष्ट्र बैंकले मागेको खण्डमा जुनसुकै बेलामा पनि दिन सकिने गरी ग्राहक पहिचान अध्यावधिक गराउनुपर्ने व्यवस्था उक्त निर्देशनमा गरिएको छ । कुनै ग्राहकले एकै पटक वा पटक–पटक गरी एक आर्थिक वर्षमा ३० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिएमा र एक दिनमा १० लाख बढीको कर्जा लिएमा यसको जानकारी गो एएमएल सफ्टवेयरमार्फत १५ दिनभित्र वित्तीय जानकारी इकाईमा जानकारी गराउनुपर्नेछ ।

यस्ता नीतिहरु कार्यान्वयन नभएको अवस्थामा राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको जरिवाना तोकेको छ । जसमा पहिलोपटिकमा सम्झाईबुझाई गरी छोड्ने र दोस्रोपटकदेखि नीति मिचेको गाम्भिर्यताका आधारमा १० लाख देखि ५ करोड रुपैयाँसम्म जरिवाना हुनसक्ने निर्देशनमा उल्लेख छ ।

यस्तै कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई जारी गरिएको निर्देशनमा भने निश्चित ग्राहकहरुसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा समेत वृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने उल्लेख गरिएको छ ।

जसमा विद्युतीय माध्यमबाट हुने कारोबारअन्तर्गत प्रणालीगत रुपमा महत्वपूर्ण र अस्वाभाविक रुपमा वा शंकास्पद तवरवाट कारोबार गर्ने ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा सम्बद्ध कसूर सम्बन्धी अपराधमा संलग्न हुन सक्ने आधार देखिएको वा शंका गर्नु पर्ने मनासिब कारण देखिएको ग्राहक, भ्रष्टाचार, करछलीलगायत अन्य आपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेका मुलुकका ग्राहक वा हाल वसोवास वा पेशा वा व्यवसाय गरिरहेको स्थान आदिको आधारमा जोखिममा रहेका ग्राहकहरुसँग कारोबार गर्दा वृहत ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने उल्लेख छ ।

यस्तै नगदको वढी प्रयोग हुने व्यवसायमा संलग्न ग्राहक वा नयाँ वित्तीय प्रविधि वा उपकरण मार्फत् कारोबार गर्ने ग्राहकहरुलाई पनि यो व्यवस्थाले छुने बताईएको छ ।

यस्ता ग्राहकहरुको कारोबारको स्रोत पहिचान वा सम्पुष्टि गर्ने, कारोबारको उद्देश्यको जानकारी वा सोको प्रमाण लिने, कारोबारको अनुगमन गर्ने प्रयोजनका लागि सीमा निर्धारण गर्ने वा अन्य कुनै उपाय अवलम्बन गर्ने, अन्र्तराष्ट्रिय प्रचलन अनुसार इसीडीडी गर्ने संयन्त्रको विकास गरी सो मार्फत् सूचना लिनेलगायतका कार्यहरु गर्नुपर्नेछ । यस्तै यी दुई निकायहरुले संचासको संचालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरुले पालना गर्नुपर्नै आचरण सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै कम्तीमा तीन महिनामा एक पटक ऐन, नियमावली र यस निर्देशनबमोजिम भए/गरेका काम कारबाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गर्नु पर्नेछ । उक्त प्रतिवेदनका सम्बन्धमा सञ्चालक समितिले आवश्यक समीक्षा गरी उपयुक्त निर्णय गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्