Logo

नेपालमा पहिलो पटक एशियन बैंकर्स कन्फ्रेन्स हुँदै, २५ देशका ७० सीईओ नेपाल आउने

नेपालमा पहिलो पटक एशियन बैंकर्स कन्फ्रेन्स हुँदै, २५ देशका ७० सीईओ नेपाल आउने



काठमाडौं । नेपाल बैंकर्स संघले कात्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फ्रेन्स आयोजना गर्ने भएको छ । एशियन बैंकर्स एसोशियसनको सहभागीतामा बैंकर्स कन्फ्रेन्स आयोजना गर्न लागेको नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उक्त कन्फ्रेन्स बिहीबार बिहान ८ः३० बजेदेखि काठमाडौंको सोल्टी होटलमा हुने केसीले बताए ।

कन्फ्रेन्समा एशियाली २५ मुलुकका ७० भन्दा बढी बैंकका सीईओ तथा अध्यक्षसहित उच्च तहका बैंकर सहभागी हुनेछन् । नेपाल बैंकर्स संघको आग्रहमा एशियन बैंकर्स एसोशियसनले नेपालमै पहिलो पटक यो कन्फेरेन्स आयोजना गर्न लागेको हो । यसका लागि कतिपय सहभागीहरु नेपाल आईसकेका छन् । कात्तिक २३ गते बिहानबाट आरम्भ हुने कार्यक्रम दुई दिनको हुने उनले बताए ।

‘रोडम्याप फर रिकभरी एण्ड सस्टेनेबल ग्रोथ’को नारासहित कनफ्रेन्स आयोजना गर्न लागेका हौं । यसमा अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उत्पन्न विश्वव्यापी परिस्थिति, एशियामा त्यसले पारेको प्रभावहरुको खोजी हुनेछ । केसी भन्छन, ‘अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । एशियाको बैंकिङलाई कसरी अघि लैजाने रु संकटको घडीबाट कसरी रिकभरीमा लैजाने र सस्टेनेबल कसरी बनाउने भन्नेबारे वृहत छलफल हुनेछ ।’

‘दुई दिनमा चार वटा सेसनको योजना बनाएको केसिले बताए । पहिलो सेसनमा ‘ग्लोबल बैंकिङ ट्रेण्ड’बारे छलफल हुनेछ । यसमा विश्वभरको बैंकिङ कसरी अघि बढिरहेको छ ? महंगीको चक्र के हो ? रिसेसनपछि बैंकिङ क्षेत्र कसरी अघि बढ्छ भन्ने बिषयमा छलफल हुनेछ ।’ केसी भन्छन, ‘यसमा अन्तराष्ट्रिय वक्ताहरु पनि समावेश हुनेछन् ।’

अर्को सेसन भनेको डिजिटल ट्रान्सफरमेशनको हो । एशियामा डिजिटल ट्रान्सफरमेसन्स कसरी गर्ने ? अहिले के के भइरहेका छन् ? ग्लोबल ट्रेण्डलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुनेछ। इन्भायरोमेन्टल सोसियल गभर्नेन्स (ईएजी) का बिषयमा अर्को महत्वपूर्ण सेसन सञ्चालन हुनेछ । नेपालमा विदेशी लगानी ल्याउन, ऋण ल्याउनका लागि पनि यो प्राथमिक आवश्यकताका रुपमा स्थापित भईसकेको छ । यसबारे गहन छलफल गर्ने उनको भनाई छ ।

चौथो सेसन भने सीईओहरुको फोरम हो, जसमा अहिले बैंकिङमा देखिएका जल्दाबल्दा बिषयहरुमा छलफल हुनेछ । अहिले एक सय बर्षपछि बैंकिङ क्षेत्रमा यस्तो खालको बिलकुलै नयाँ परिस्थिति निर्माण भएको छ । कोभिड र रसिया–युक्रेन युद्धपछि बैंकिङ क्षेत्र नै अस्थिर बनिरहेको छ । अर्थतन्त्रका परिदृश्यहरु पनि बदलिईरहेका छन् । डिजिटलाइजेशनले पनि नयाँ नयाँ चुनौतीहरु निम्त्याईरहेको छ । यी बिषयहरुमा गहन छलफल हुनेछ ।

त्यसबाहेक नेपालका तर्फबाट हामीले ‘रि–इम्याजिनिङ नेपाल्स इकोनोमी’ भनेर अतिरिक्त सेसन तयार पारेका छौं । नेपाल राष्ट्र बैंकका गभर्नरज्यूको अध्यक्षतामा यो छलफल अघि बढ्नेछ । कन्फ्रेन्समा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ र अध्यक्षताहरुसहित बैंकका उच्च पदस्थहरुको सहभागीता सुनिश्चित भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्