Logo

आर्थिक मन्दीको असरले बैंकको व्यवसाय प्रभावित : नाफा घट्यो, दोब्बरले बढ्यो खराब कर्जा

आर्थिक मन्दीको असरले बैंकको व्यवसाय प्रभावित : नाफा घट्यो, दोब्बरले बढ्यो खराब कर्जा



काठमाडौं । लामो समय देखि देखिएको आर्थिक मन्दीको कारण बैंकको व्यवसाय प्रभावित भएको छ । बैंकहरुको खराब कर्जा बढ्दा नाफामा असर परेको तथ्यांकले देखाएको हो । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमाससम्म आउँदा दर्जन बैंकको नाफा प्रभावित भएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वाणिज्य बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा घटेको छ भने एक बैंकको नाफा ऋणात्मक छ । यस अवधिमा ८ वाणिज्य बैंकको नाफा भने बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्ष २० वाणिज्य बैंकको नाफा १८ प्रतिशतको हाराहारीमा घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा २० वटा वाणिज्य बैंकले १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । गत आर्थिक वर्ष यी २० वाणिज्य बैंकको नाफा १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा अधिकांस बैंकहरुको इम्पेयरमेन्ट चार्ज बढेको छ । जसको कारण बैंहरुको नाफा प्रभावित बन्न पुगेको हो । यसैगरी यस अवधीसम्म आउँदा बैंकहरुको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । जसको कारण पनि खुद नाफा प्रभावित भएको बैंकर भुवन दाहाल बताउँछन । यता चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा वाणिज्य बैंकहरुको खराब कर्जामा भारि वृद्धि भएको छ । यसले बैंकको व्यवसायलाई ठूलो असर गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३.३८ प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको भन्दा वार्षिक औसत १.६९ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको यसै अवधीमा बैंकहरुको खराब कर्जा १.५९ प्रतिशतमात्र थियो । मन्दीले हरेक आर्थिक क्षेत्रलाई असर गरेको र यसकै कारण बैंकहरुको लगानी उठ्न नसक्दा बैंकको खराब कर्जा बढेको बैंकर दाहाल बताउँछन । बैंकको खराब कर्जा बढ्दा समग्र बैंकिङ व्यवसायमा नै धक्का लागेको उनको बुझाई छ ।

यस अवधीसम्म आउँदा सबैभन्दा धेरै खराब कर्जा भएको बैंक कृषि विकास बैंक रहेको छ । यस बैंकको खराब कर्जा यस अवधीसम्म ५ प्रतिशतभन्दा माथि रहेको छ । हाल सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकको खराब कर्जा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेको छ ।

बाँकी बैंकको खराब कर्जा (सूचीसहित)

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले यसअघि उद्योग व्यवसाय क्षेत्रलाई असर गरिसकेको र अब बैंक तथा वित्तीय संस्थामा असर गर्न थालेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादूर थापा बताउँछन् । ‘अर्थतन्त्र मन्दीमा गैसक्यो धेरैजसो उद्योग कलकारखाना पनि बन्द भैसके,’ उनले भने, ‘अबको असर भनेको बैंकलाई नै हो भने रेमिटान्सले पनि अर्थतन्त्र जोगाउन सक्दैन ।’ साथै यसअघि बैंकहरुले रियल स्टेटमा प्रबाह गरेको कर्जा उठौतीमा चुनौती हुने र त्यसले गर्दा थप संकट निम्त्याउने उनको तर्क छ । जबसम्म घरजग्गाको मूल्यमा करेक्सन आउँदैन तवसम्म अर्थतन्त्रमा सुधार नआउनुका साथै बैंकको कर्जा असुलीमा समेत सकस हुने उनले जानकारी दिए ।

कुन बैंकको नाफा कति ?

यस अवधीसम्म आउँदा कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै प्रवावित भएको छ । गत आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा २२ करोड ९ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको कृषि विकास बैंकको नाफा चालु आर्थिक वर्षमा आउँदा ऋणात्मक बन्न पुगेको छ । यस अवधीमा बैंकको नाफा ८८ करोड ८० लाख ७१ हजार रुपैयाँले ऋणात्मक बनेको छ ।

यस अवधीसम्म आउँदा सबैभन्दा धेरै नाफा बढाउन सफल बैंक हिमालयन बैंक रहेको छ । यस बैंकको नाफा यस अवधीमा ९८ प्रतिशतको हाराहारीमा बढेको छ । गत आर्थिक वर्षको यस अवधीसम्म ५३ करोड २४ लाख रुपैयाँ रहेको बैंकको नाफा यस आर्थिक वर्षको सोही अवधीमा आउँदा १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

यस अवधीसम्म आउँदा नबिल बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसि एसिया बैंक, कुमारी बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा घटेको छ ।
यसैगरी, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा बढेको छ ।

बाँकी बैंकको नाफा (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्
MBL