Logo

नबिलले कमायो १ अर्ब ४६ करोड नाफा, अन्य सूचक कस्तो छ ?

नबिलले कमायो १ अर्ब ४६ करोड नाफा, अन्य सूचक कस्तो छ ?



काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास असोज मसान्तसम्ममा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको यस अवधीमा इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो । बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।

बैंकले यसपाली असोज मसान्तसम्ममा ४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

२०७९ असोज मसान्तमा बैंकले जम्मा ३९६ रुपैयाँ निक्षेप संकलन गरि ३३२ अर्ब रुपैयाँ कर्जा लगानी गरि ३६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ७२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ६.२७ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्