Logo

दशैंपछि यी बैंकले गर्दै छन लाभांश घोषणा : पुँजी कोषका कारण लाग्दैन अंकुश, कसले कति दिन सक्छन ?

दशैंपछि यी बैंकले गर्दै छन लाभांश घोषणा : पुँजी कोषका कारण लाग्दैन अंकुश, कसले कति दिन सक्छन ?



काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हालसम्म ६ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् भने बाँकी १३ वाणिज्य बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्न बाँकी छ ।

लाभांश घोषणा गर्न बाँकी रहेका १३ वाणिज्य बैंकले आफ्ना लगानीकर्तालाई दशैंपछि लाभांस वितरण गर्ने छन् । तर राष्ट्रिय वाणिज्य बैंक भने नेपाल धितोपत्र बजारमा सूचिकरण भएको छैन । गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंक, माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गरिसकेका हुन ।

सिटिजन्स बैंक, एभेष्ट बैंक र सनिमा बैंकले सेयरधनीको खातामा पैसा पठाएका छन् । सानिमा बैंकले साधारणसभा गरेकै दिन लाभांश खातामा पठाएर ‘चमत्कार’ गरेको हो । सिटिजन्स बैंक दशैंअघि लाभांश दिनेमा पहिलो बैंक, दोस्रोमा एभरेष्ट बैंक भएको छ भने तेस्रो हुनेमा सानिमा बैंक भएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंकले सेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश खातामा पठाइसकेका छन् ।

यसैगरी एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश आफ्ना सेयर धनीको खातामा पठाएको छ । यसैगरी, सानिमा बैंकले ९ प्रतिशत बोनस र करसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभाशं पनि आफ्नो सेयर धनिको खातामा पठाइसकेको छ । माछापुच्छ«े, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले भने आफ्ना लगानीकर्ताको खातामा पैसा पठाउन बाँकी छ ।

लाभांश घोषण गर्न बाँकी १३ बैंकले कत्ति दिन सक्छन ?

लाभांश घोषण गर्न र साधारण सभा बोलाउनका लागि बाँकी १३ वटा बैंक लाईनमा छन । नबिल बैंकले गत आर्थिक वर्ष २०७९–०८० मा ३ अर्ब ९६ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्ने क्षमता रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको नाफाबाट २ अर्ब ७३ करोड वितरणयोग्य नाफा कमाएको छ भने चुक्ता पुँजी ९ अर्ब ४२ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

यता गत आवमा कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । यी दुई बैंकले सेयरधनीलाई लाभांश वितरण नसक्ने अवस्था रहेको छ । गत आवमा कुमारी बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड हुँदा लाभांश क्षमता ३.२३ प्रतिशत नकारात्मक देखिन्छ । यसैगरी, हिमालयन बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी १२ अर्ब ९६ करोड हुँदा बैंकको लाभांश क्षमता ५.४९ प्रतिशत नकारात्मक रहेको छ ।

कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७१ लाख वितरणयोग्य नाफा कमाएको छ । चुक्ता पुँजी १३ अर्ब ४५ करोड हुँदा गत आवको नाफाबाट यो बैंकले सेयरधनीलाई १४.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ । नेपाल एसबिआई बैंकले गत आवमा १ अर्ब ४१ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता छ ।

यसैगरी, लक्ष्मी सनराइज बैंकले गत आवमा १ अर्ब ९३ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.९४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । एनएमबि बैंकले गत आवमा १ अर्ब ५५ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

ग्लोबल आइएमई बैंकले गत आवमा २ अर्ब ९५ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.२७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । नेपाल बैंकले गत आवमा ९७ करोड ३३ लाख वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.६२ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

प्राइम बैंकले २० करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १.०६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । प्रभु बैंकले गत आवमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोडअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

गत आवमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १५ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०.४६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

पुँजी कोषको कारण लाभांशमा अंकुस लाग्दैन : राष्ट्र बैंक

अघिल्लो केहि आर्थिक वर्ष बैंकहरुले आफ्नो पुँजी कोष पर्याप्त बनाउन नसक्दा केहि बैंकको लाभांश राष्ट्र बैंकले रोकेको थियो । तर, गत आर्थिक वर्षको नाफाबाट भने सबै बैंकले लाभांश वितरण गर्न सक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार गत आवमा सबै बैंकको पुँजी कोष पर्याप्त रहेको छ ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०८० मा बैंकले आर्थिक वर्ष २०८०–८१ को अन्त्य देखी काउन्टर साइक्लिकल बफर लागु गर्नुपर्ने व्यवस्था गरेको छ । यो लागुगर्दा चालु आर्थिक वर्षको नाफाबाट बोनस वितरणमा भने केहि बैंकलाई असहज अवस्था आउँन सक्ने अवस्था रहेको ती अधिकारी बताउँछन । तर, गत आर्थिक वर्ष पनि ‘जिडिपि टु क्रेडिट रेसियो’ ब्यालेन्समा रह्यो भने कुनै पनि बैंकलाई खासै असर नदेखिने ती अधिकारी बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL