काठमाडौं । ग्लोबल आइएमई बैंक हाल चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक हो । यस बैंकले १२ वर्षमा आफ्ना लगानीकर्तालाई औसत १७.३९ प्रतिशत लाभांश वितरण गरेको छ । लगानीकर्तालाई लाभांश वितरणमा ग्लोबल आइएमई बैंकले हालसम्म नगदभन्दा पनि बोनस सेयरमा जोड दिएको देखिन्छ ।
बैंकले १२ वर्षमा औसत १२.५४ प्रतिशत बोनस सेयर वितरण गरेको छ । बैंकले १२ वर्षको अवधिमा औसत ४.८५ प्रतिशतमात्र नगद लाभांश वितरण गरेको छ । आफ्ना लगानीकर्तालाई नगदभन्दा धेरै बोनस सेयर वितरण गरेको यस बैंकको चुक्ता पुँजी हाल सञ्चालनमा रहेको २० वटा बैंकको तुलनमा सबैभन्दा धेरै रहेको छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले यस वर्ष आफ्ना लगानीकर्तालाई औसतमा १३.१५ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । गत आर्थिक वर्ष २०७९–८० मा बैंकको वितरण योग्य रकम २ अर्ब ९५ करोड ६९ लाख ५६ लाख रुपैयाँ रहेको छ ।
बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५–७६ मा बाँडेको छ । यो आर्थिक वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । बैंकले सबैभन्दा धेरै नगद लाभांश पनि यसै वर्ष वितरण गरेको थियो । आर्थिक वर्ष २०७५–७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । उक्त वर्षभन्दा अन्य आर्थिक वर्षमा भने बैंकले लगानीकर्तालाई नगद लाभांशभन्दा बोनस सेयर धेरै दिएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०७०–७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले कर प्रयोजनसहित ४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७१–७२ मा लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयरमात्र वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७३–७४ मा लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले कर प्रयोजनसहित १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।