काठमाडौं । नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका कार्यकारी निर्देशक सुनिल केसीले नेपाल राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नुपर्ने सर्कुलरले खराब कर्जा बढ्ने जानकारी दिएका छन् ।
नेपाल बैंकर संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले राष्ट्र बैंकको नीतिले कहाँ–कहाँ प्रभाव पार्छ भन्ने विषयमा अध्ययन भइरहेको पनि जानकारी दिएका छन् । यस्तै उनले चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन भने सकारात्मक भएको बताएका छन् ।
केसीले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा गरिएको संशोधनले बजार चलायमान बनाउन सहयोग गर्ने बताए । बैंक वित्तीय संस्थाले विभिन्न मापदण्डको आधारमा ४०/५० प्रतिशत सम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था गरिएको उनको भनाई छ । उत्पादनमुलक उद्योगलाई सहज व्यवस्था गरिएको केसीको बुझाई छ । ‘भेरियन्स सम्बन्धी नीतिमा संशोधन गरिएको छ । निर्माण व्यवसायीलाई सुविधा दिइएको छ । यी व्यवस्थाले उत्पादनमुलक उद्योगलाई सहयोग गर्छ भन्ने अपेक्षा छ।’ उनले भने ।
यसैगरी, केसीले बाहिर भनिए जस्तो अहिलेको अवस्थामा तरलता सहज नभएको पनि जानकारी दिएका छन । उनले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिँदा निक्षेपमा समस्या देखिएको बताए। बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२–८३ प्रतिशत भएता पनि लगानी योग्य पुँजीको भने अभाव रहेको उनको भनाई छ ।