Logo

आर्थिक मन्दीतर्फ मुलुक : प्रोभिजन बढ्दा बैंकको नाफा खुम्चियो, वितरणयोग्य नाफामा ४०% ले गिरावट

आर्थिक मन्दीतर्फ मुलुक : प्रोभिजन बढ्दा बैंकको नाफा खुम्चियो, वितरणयोग्य नाफामा ४०% ले गिरावट

सरकारलाई साढे २९ अर्ब कर बुझाउँदा लगानीकर्तालाई ३२ अर्ब



काठमाडौं । उद्योगी व्यवसायीले बैंकबाट लिएको कर्जाको किस्ता र ब्याज भुक्तानी गर्न नसक्दा ठूलो रकम प्रोभिजन गर्नुपर्ने भएको छ । विश्वव्यापी रुपमा आएको आर्थिक संकटका कारण उद्योगी व्यवसायीले समयमै कर्जाको साँवा व्याज भुक्तानी गर्न नसक्दा बैंकको लोन प्रोभिजन र खराब कर्जा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा वाणिज्य बैंकहरुको खराव कर्जा साढे दुई गुणाले बढ्न पुगेको छ । आव २०७८/७९ मा वाणिज्य बैंकहरुको खराब कर्जा १.१५ प्रतिशत रहेकोमा आव २०७९/८० मा आईपुग्दा बढेर २.७० प्रतिशत पुगेको छ । यद्यपि बैंकहरुको खराब कर्जामा गत आबको तेस्रो त्रैमासको तुनामा भने धेरै सुधार आएको छ ।

यसैगरी गत आवमा बैंकहरुले इम्पेरिमेन्ट चार्जेज (लोन लस प्रोभिजन) अन्तरगत पनि ठूलो रकम छुट्याएका छन् । आव २०७८/७९ मा बैंकहरुले कुल ४ अर्ब ७८ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज अन्तरगत प्रोभिजन गरेकोमा गत आवमा त्यस्तो रकम वापत ३४ अर्ब १० करोड रुपैयाँ प्रोभिजन गरेको बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ ।

यसैगरी यो वर्ष बैंकहरुले नियामकीय व्यवस्था अनुरुप नन बैंकिङ सर्ट लोन लस प्रोभिजन अन्तरगत पनि कर पश्चात ४ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेका छन् । गत आवमा बैंकहरुको ठूलो रकम प्रोभिजनमा जाँदा नाफामा गिरावट आएको पूर्व बैंकर एवं बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बताउँछन् । अघिल्लो आवको तुलनामा बैंकहरुको इम्पेरिमेन्ट चार्जेज र खराव कर्जाको भार ठूलो अंकले बढ्दा बैंकहरुको नाफामा गिरावट आएको समेत उनले जानकारी दिए ।

यसैगरी अघिल्लो आवको तुलनामा बैंकको नाफा घटेपनि मिडियाहरुले गत तरिकारले सूचना प्रवाह गर्दा बजारमा बैंकको नाफा बढ्यो भन्ने गतल सन्देश गएको पूर्व बैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् । आव २०७८/७९ मा वाणिज्य बैंकहरुले कुल ७४ अर्ब ८० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए भने ५३ अर्ब ६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा थियो । तर गत आवमा आईपुग्दा ७० अबै १८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् भने वितरणयोग्य नाफा ३१ अर्ब ९० करोड रुपैयाँमा झरेको छ ।

अघिल्लो आवसँग गत आवको तुलना गर्दा बैंकहरुको खुद नाफामा ६.१८ प्रतिशतले गिरावट आएको छ भने वितरणयोग्य नाफामा ३९.८७ प्रतिशतले खुम्चिन पुगेको छ ।

मिडियाहरुमा आव २०७९/८० मा रहेका २० वटा बैंक र अघिल्लो आवका सोही बैंकको नाफासँग तुलना गर्दा नाफा बढी देखिन आएको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । ‘अघिल्लो आवमा २० ओटा बैंक थिए भने गत आवमा आईपुग्दा मर्जर भएर २० वटामा खुम्चिए,’ उनले भने, ‘तर गत आवमा मर्ज भएर घटेका ६ वटा वाणिज्य बैंकले अघिल्लो आवमा कमाएमा नाफा नजोड्दा बैंकका नाफा बढ्यो भन्ने गलत सूचना प्रबाह हुन पुगेको देखिन्छ ।’

पछिल्लो समय बैंकको लगानी नउठ्नुका साथै खराव कर्जा समेत उच्च रुपमा बढेकाले देश आर्थिक मन्दीतर्फ गएको संकेत गर्ने सम्बद्ध अर्थविद्हरु बताउँछन् । ‘गत आवमा बैंकहरुको खराव कर्जाका साथै लोन लस प्रोभिजन जुन अंकमा वढेको छ त्यसले देशको आर्थिक अवस्था ठिक छैन भन्ने देखाउँछ,’ एक अर्थिविद्ले भने, ‘अबका दिनमा राष्ट्र बैंक र बैंकरहरु चनाखो भएर बैंकहरुको सम्पतीको गुणस्तर मूल्यांकन र कर्जा जोखिम बर्गीकरण नगर्ने हो भने यसले आगामी दिनमा ठूलो दूर्घटना निम्त्याउन सक्छ ।’ साथै गत आवमा जसरी बैंकको खराव कर्जाका साथै लोनलस प्रोभिजन बढेको छ आगामी दिनमा नन बैंकिङ एसेस्ट्स उच्च रुपमा बढ्ने देखिन्छ ।

सरकारलाई कर र लगानीकर्ताको लाभांश बराबर

बैंकमा लगानीकर्ताले पाउने लाभांश र सरकारले कर वापत प्राप्त गर्ने रमक बरावर जस्तै रहेको छ । बैंकहरु कागजी रुपमा बढी नाफा देखाएको र उक्त रकम नठ्दा प्रोभिजन गर्नुपरेका कारण वितरण योग्य नाफा एकदमै न्यून रहेको छ । समग्र वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा अघिल्लो आवको तुलनामा करिव ४० प्रतिशतले घटेको छ ।

तर गत आवमा वाणिज्य बैंकहरुले आम्दानी गरेवापत सरकारलाई तिर्नुपर्ने कर रकम बैंकहरुको वितरणयोग्य नाफा बराबर नै रहेको छ । बैंकहरुले ब्याज असुली गर्न नसकेपछि गत आर्थिक वर्षमा पाकेको ब्याज रकम आम्दानी र नाफामा देखाउँदा सो वापत ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्थाका कारण ठूलो रकम सरकारी ढुकुटीमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्