Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब ५२ करोड, लाभांश क्षमता २९ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब ५२ करोड, लाभांश क्षमता २९ प्रतिशत



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ।विवरण अनुसार बैंकको लाभांश क्षमता २९ प्रतिशत देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २५.३७ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्