Logo

काउन्टर साइक्लिकल बफरको असर : १० बैंकलाई थप कर्जा विस्तार गर्न समस्या, कुन बैंकको अवस्था कस्तो ? (सूचीसहित)

काउन्टर साइक्लिकल बफरको असर : १० बैंकलाई थप कर्जा विस्तार गर्न समस्या, कुन बैंकको अवस्था कस्तो ? (सूचीसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले लगाएको काउन्टर साइक्लिकल बफरको व्यवस्थाले १० वाणिज्य बैंकलाई थप कर्जा प्रवाह गर्न समस्या पर्ने भएको छ । जेठ मसान्तसम्मको वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष (टायर वान क्यापिटल) विभिन्न १० वाणिज्य बैंकको ९ प्रतिशतदेखि १० प्रतिशतको हाराहारी मात्रै रहेको छ । यसमा काउन्टर साइक्लिकल बफरको व्यवस्था थप हुँदा यी १० बैंकको प्राथमिक पुँजी कोष थप बढाउनुपर्ने हुन्छ ।

यदि प्राथमिक पुँजी कोष दबाबमा बसेका बैंकहरुको पुँजी कोष बढ्न सकेन भने थप कर्जा प्रवाह गर्न समस्या हुने नेपाल राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । नेपाल राष्ट्र बैंकले शुक्रबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गर्दैं ‘क्यापिटल एडुक्वेसी फ्रेमवर्क’ २०१५ मा व्यवस्था भए बमोजिम वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । जसअनुसार टायर वान अन्तरगतको कोर क्यापिटल रेसियोमा शुन्य देखि २.५ प्रतिशतसम्म काउन्टर साइक्लिकल बफर लगाउने सक्नेछ ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार काउन्टर साइक्लिकल बफर कुल ग्राहस्थ उत्पादन (जीडीपी) र निजी क्षेत्रमा प्रबाह भएको कर्जाको अन्तरका आधारमा निर्धारण हुन्छ । पछिल्लो पाँच वर्षको कर्जा र कुल ग्राहस्थ उत्पादनको अनुपातलाई पछिल्लो अनुपातबाट घटाइन्छ । यसरी आएको सकारात्मक योग ५ प्रतिशत भन्दा धेरैले बढेको खण्डमा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफरको व्यवस्था गर्नुपर्ने र त्यसपछि हरेक २.५ प्रतिशतको वृद्धिमा ०.५ प्रतिशत विन्दुका दरले थप गर्दे कुल २.५ प्रतिशतसम्म बफरको व्यवस्था गर्नुपर्ने हुन्छ । तर, अहिलेको अवस्थामा १ प्रतिशतको हाराहारीमा मात्रै काउन्टर साईक्लिकल बफर लाग्ने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसरी राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था गर्दा एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, सनराईज बैंक र माछापुच्छ«े बैंकले थप कर्जा विस्तार गर्न पाउँदैनन् । यी बैंकको प्राथमिक पुँजी कोष अहिले नै राष्ट्र बैंकले निर्धारण गरेको सीमाको हाराहारीमा रहेको छ । यसमा थप काउन्टर साइक्लिकल बफरको व्यवस्था गर्दा यी बैंकले थप कर्जा विस्तार गर्न नसक्ने नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकले देखाउँछ । तर अहिले लक्ष्मी र सनराईज बैंक एक आपसमा मर्ज भएका कारण लक्ष्मी सनराईज बैंकलाई काउन्टर साईक्लिकल बफर लगाउँदा पनि कर्जा प्रबाहमा केही सहज हुने देखिन्छ ।

यसैगरी, हिमालयन बैंक, प्रभु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, र सानिमा बैंकको प्राथमिक पुँजी कोष लगभग अहिले नै राष्ट्र बैंकले राखेको सीमा रहेको छ । यी बैंकका थप काउन्टर साइक्लिकल बफरको व्यवस्था लागु हुँदा बैंकको कर्जा विस्तार गर्न नपाउने अवस्था रहेको छ ।

कुन बैंकको प्राथमिक पुँजी कोष कत्ति छ ?

गत आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम प्राथमिक पुँजी कोष प्रभु बैंकको रहेको छ । सो अबधिमा बैंकको प्राथमिक पुँजी कोष ८.६१ प्रतिशत मात्र रहेको छ । यता बैंकको कुल पुँजी कोष (टायर टू क्पापिटल) १२.२९ प्रतिशतको हाराहारीमा रहेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुको यस्तो रेसियो ११ प्रतिशत हुनुपर्छ । कुल पुँजी कोष (टियर टू क्पापिटल) ११ प्रतिशतभन्दा तल भएका बैंकहरुलाई पनि कर्जा विस्तारमा समस्या हुन्छ ।

हाल क्यापिटल एडुकेसी फ्रेमवर्कअनुसार वाणिज्य बैंकहरुले ६ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत क्यापिटल कन्भर्सेसन बफरसहित ८.५ प्रतिशत न्यूनतम् प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नुपर्छ भने कुल पुँजीकोष (टायर वान र टायर टु) ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेको छ । काउन्टर साईक्लिकल बफर टायर वानमा लाग्ने र त्यसको समग्र असर क्यापिटल एडुकेसी अनुपातमा पर्ने भएकाले त्यस्ता बैंकलाई थप कर्जा प्रबाह गर्न समस्या पर्ने छ ।

यसैगरीे दोस्रो स्थानमा रहेको माछापुच्छ बैंक टायर वान अर्थात कोर क्यापिटल रेसियो ८.७१ प्रतिशत रहेको छ । यता बैंकको टायर टू क्यापिटलभने १३.११ प्रतिशत रहेको छ । लक्ष्मी बैंकको प्राथमिक पुँजी कोष ८.९० पतिशतमात्र रहेको छ । यता बैंकको कुल पुँजीकोष १२.७७ प्रतिशत रहेको छ । हिमालयत बैंकको टियर वान क्यापिटल रेसियो पनि ९ प्रतिशतभन्दा तल रहेको छ । यस बैंकको यस्तो रेसियो ८.९५ प्रतिशत रहेको छ । यस बैंकको टायर टू क्यापिटल रेसियो १२.२७ प्रतिशत रहेको छ । कोर क्यापिटलमा काउन्टर साईक्लिकल बफर लगाउँदा यी बैंकहरुलाई आगामी दिनमा थप कर्जा प्रबाह गर्न कठिन हुनेछ ।

अन्य बैंकको सूची

पुँजी कोष बढाउन बैंकले के गर्न सक्छन् ?

बैंकहरुले पुँजी कोष बढाउन बैंकको चुक्ता पुँजी बढाउनुपर्ने हुन्छ । बैंकहरुले चुक्ता पुँजी बढाउनको लागि हकप्रद सेयर, बोनस सेयर लगायतका मौद्रिक औजारहरु प्रयोग गर्न सक्छन् । तर, बैंकहरुलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । यसको विकल्पमा बैंकहरुले बोनस सेयर वितरण गरेर आफ्नो चुक्ता पुँजी बढाउनसक्ने राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।

यसबाहेक बैंकले आफ्नो पुँजी कोष बलियो बनाउन ऋणपत्र निष्कासन गर्न सक्छ । ‘विदेशबाट लगानी ल्याएर पनि बैंकले आफ्नो पुँजी कोष बलियो बनाउँन सक्छ,’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘बैंकले आफ्नो खर्च कम गरेर आम्दानी बढि गर्दा पनि बैंकको पुँजी कोष बलियो बन्छ ।’ बैंकले आफुले गरेको कर्जा लगानी उठाउने र निक्षेप संकलन बढाउँदा पनि बैंकको पुँजी कोष वृद्धि हुने ती अधिकारी बताउँछन् । ‘अहिले बैंकले जथाभावी कर्जा प्रवाह गरेर लगानी उठाउन नस्कदा बैंकको पुँजी कोषमा दबाब देखिएको हो,’ ती अधिकारीले भने, ‘बैंकले लगानी समयमा उठाउँन थाले पछि बैंकको पुँजी कोष पनि आफै सन्तुलनमा आउँदै जान्छ ।’

प्रतिक्रिया दिनुहोस्