Logo

लक्ष्य १२.६ प्रतिशत लगानी ३.०८ मा सीमित, बैंकमा तरलता फालाफाल हुँदा पनि किन बढेन कर्जाको माग ?

लक्ष्य १२.६ प्रतिशत लगानी ३.०८ मा सीमित, बैंकमा तरलता फालाफाल हुँदा पनि किन बढेन कर्जाको माग ?



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) फालाफाल हुँदा पनि कर्जा लगानी बढ्न सकेको छैन । केही समयअघिसम्म उद्योगी व्यवसायीले कर्जा नपाएको गुनासो गर्दै आएपनि अहिले कर्जाको माग नै नभएको सम्बद्ध बैंकरहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–०८० को मौद्रिक नीतिमार्फत कर्जा प्रबाहलाई संकुचन गर्दै १२ दशमलव ६ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य लिएको थियो । तर, बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम हुँदाहुँदै पनि जम्मा ३ प्रतिशतको हाराहारीमा मात्रै कर्जा विस्तार भएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अुनसार बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै लगानी गर्नसक्ने क्षमता छ । बैंकहरुसँग कुल स्रोत ५९ खर्ब २५ अर्ब रुपैयाँबाट ९० प्रतिशत सीडी अनुपातको आधारमा ५३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ । तर, शनिबारसम्मको तथ्यांक अनुसार ४९ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । अर्थात् बैंकहरुसँग अहिलेकै अवस्थामा ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गर्नसक्ने क्षमता छ ।

चालु आर्थिक वर्षको साढे ११ महिनामा बैंकहरुले १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको मात्रै थप कर्जा प्रवाह गरेका छन् । अर्थात् बैंकको क्षमता अनुसार कर्जा प्रवाह हुने हो भने दुई साताभन्दा कमको अवधिमा साढे ११ महिनाको भन्दा ३ गुणा बढी कर्जा प्रवाह गर्न सक्छन् ।

किन बढेन कर्जाको माग ?

पछिल्लो समयमा बजारमा कर्जाको माग कम हुँदा राष्ट्र बैंकको लक्ष्य अनुसार कर्जा विस्तार हुन नसकेको बैंकरहरु नै बताउँछन् । ‘केहि समय अगाडी बैंकहरुमा लगानी योग्य रकम थिएन तर कर्जाको माग उच्च थियो,’ एक बैंकरले भने, ‘अहिले बजारमा लगानी योग्य रकम बढेको छ तर लगानी गर्ने ठाउँ छैन । यसले पनि बजार कर्जा प्रवाहको फ्लो घटिरहेको छ ।’

चालु आर्थिक वर्षको ६ महिनासम्म बैंक तथा वित्तीय संस्थासँग योग्य रकम नभएको बैंकर भुवन दाहाल बताउँछन् । ‘पुससम्म बैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव थियो,’ उनले भने, ‘त्यस पछिको अवस्थामा केहि तरलता सहज हुँदै गएता पनि बैंक तथा वित्तीयसंस्थाले कर्जा लगानी गर्ने ठाउँ पाईरहेका छैन्न ।’

यसैगरी उच्च ब्याजदरका कारण अहिले बजारमा भएको पैसा बैंकहरुले नेपाल राष्ट्र बैंकका राख्दा पनि राम्रो ब्याजदर पाएका छन । एकातर्फ बजारमा लगानी गर्ने वातावरण सहज नहुनु र अहिलेको मन्दीमा राष्ट्र बैंकमा पैसा राख्दा सुरक्षित हुने कारण पनि बैंकहरुले बजारमा लगानी बढाउन नचाएको बैंकर दाहालको बुझाई छ । ‘बैंकहरुले पुरानो कर्जाहरु उठाउन पनि सकिरहेका छैन्न भने व्यवसायीहरु कर्जा तिर्न नसकेर पसल कबल नै बन्द गरेर ब्यापारीहरु पलायन भइरहेका छन्,’ उनले भने, ‘यसले पनि बैंकहरु कर्जा बाँड्नेभन्दा कर्जा उठाउने तिर लागेका छन् ।’ व्यवसायमा कर्जा लगानी गर्दा असुरक्षित हुने देखे पछि बैंकहरुले सहज बाटो खोज्दै सरकारी बन्डहरुमा लगानी बढाएका उनको भनाई छ ।

अहिले निजी क्षेत्रले पनि कर्जाको माग घटाएको छ । निजी क्षेत्रमा लगानी योग्य वातावरण कम भएको कारण ठूला ब्यापारीहरुले ऋण लिईरहेका छैनन । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र जोगाउँन भन्दै लिएको केहि नीतिहरु अहिलेसम्म पनि यथावत राख्दा बजारमा कर्जाको माग घटेको एक व्यवसायी बताउँछन् ।

साथै नेपाल राष्ट्र बैंकले लिएको चालु पुँजी कर्जाको व्यवस्थाले पनि बजारमा ऋण जान नसकेको एक बैंकरले बताए । उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजीको व्यवस्थाले पनि पछिल्लो समय कर्जाको माग घटेको देखिन्छ । राष्ट्र बैंकले ल्याएको यो व्यवस्था गलत नभएता पनि अहिलेका लागि समय सान्दर्भिक नहुँदा निजी क्षेत्रमा कर्जा प्रबाह हुन सकेन ।’ नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै १ कात्तिकदेखि कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

उद्योगी व्यापारीहरुको बिरोध पछि राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको बुँदा नम्बर ७ मा भएको व्यवस्था एक वर्षपछि मात्रै लागू हुने गरी संसोधन गरेको थियो । उक्त बुँदामा चालु पुँजी कर्जाको भेरियन्ससम्बन्धी व्यवस्था रहेको छ । जसले सुरुमा नै ऋणीले पेश गरेको विवरणको विश्लेषण गरेर वास्तविकता नजिक हुने गरी मात्रै कर्जा दिनुपर्ने उल्लेख गरिएको छ । यसैगरी, केहि बैंकले पुँजीकोषको पर्याप्ता नहुँदा पनि कर्जा वितरण गर्न सकिरहेका छैन्न । केहि बैंक अहिले आफुसँग पैसा भएर पनि कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्