Logo

नबिल बैंकको एनबैंक वेब सुरु, दैनिक २० लाखसम्म पठाउन मिल्ने

नबिल बैंकको एनबैंक वेब सुरु, दैनिक २० लाखसम्म पठाउन मिल्ने



काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा ‘एनबैंक वेब’ सुरु गरेको छ। बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट एनबैंक वेब सेवाको सुरुवात गरेको हो। ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैंयासम्म अनलाइन बैंकिङबाट रकम पठाउन सक्ने बैंकले जनाएको छ।

एनबैंक वेबको सहयोगले प्रयोगकर्तामैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ। एनबैंक एप (मोबाइल बैंकिङ)मा दर्ता भएका व्यक्तिगत ग्राहकले लगइन गर्न एउटै आइडी र पासवर्डको वा क्यूआर कोडको प्रयोग गर्न सकिने बताइएको छ।

‘एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्दछ। यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ,’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (एनबैंक र अपरेसन्स्) विनयकुमार रेग्मीले भने।

अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गतेदेखि बन्द हुनेछ। व्यक्तिगत खाता सञ्चालन गर्ने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। रेग्मीले थपे, ‘हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले कर्पोरेट पेमा दर्ता गर्नुपर्नेछ।’

एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेपविरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्ने बैंकले जनाएको छ। साथै, एनरेमिट नबिल बैंकको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिटेन्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सकिने छ। एनबैंकको वेबको सुविधा यो लिंकमार्फत लिन सकिने बताइएको छ।

एनबैंक वेबले उच्चस्तरको सुरक्षा समावेश गरेको बताउँदै डिसीइओ रेग्मीले भने – ‘एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरूको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो इन्क्रिप्सन, टु फ्याक्टर अथेन्टिकेसन, स्वतः लगआउट सुविधा र सिम प्रमाणिकरणलगायतका बलियो उपायहरू मार्फत उच्चस्तरको सुरक्षा प्रस्तुत गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्