Logo

बैंकविरुद्ध अराजकता फैलाउनेको विरोधमा सिविफिन, अब कठोर रुपमा उत्रिने

बैंकविरुद्ध अराजकता फैलाउनेको विरोधमा सिविफिन, अब कठोर रुपमा उत्रिने



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले बैंकविरुद्ध अराजकता फैलाउने विरुद्ध कडा कदम चालिने बताएको छ । सिविफिनले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णय भएको बताएको हो । पछिल्लो समय बैंकका कर्मचारी कुटिने, बैंकमा तोडफोड गर्ने, बैंकबाट लिएको सावाँ ब्याज नतिर्नेलगायतका प्रतिक्रिया दिनेलगायतका गतिविधि बढ्दा छन् । सोही गतिविधिहरुलाई नियन्त्रण गर्नका लागि सिविफिनले यस्तो निर्णय गरेको बताएको छ ।

सिविफिनले जारी गरेको सूचनामा कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको सावाँ ब्याज नतिर्न दुरुत्साहन गर्नेलगायत कानुनले वर्जित गरेका क्रियाकलापहरु बढेको उल्लेख छ ।

यस्ता क्रियाकलाप गर्नेविरुद्ध अनिवार्यरूपमा मुद्दा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरूको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्