Logo

भुकम्प पिडीतलाई आफ्नै बैंक खातामा पैसा, हेर्नुहोस कसरी पाइन्छ ?

भुकम्प पिडीतलाई आफ्नै बैंक खातामा पैसा, हेर्नुहोस कसरी पाइन्छ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणमा अनुदान रकम वितरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र बैंक वित्तीय संस्थाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमबीच प्रधिकरण र नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एसोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टिच्यूसन एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका हुन् । यसैगरी साक्षीमा प्राधिकरणका सहसचिव जनार्दन गुरागाईं, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे रहेका छन् ।

समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनेछन् । जसका लागि सदरमुकाममा रहेका बैंकहरुले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका शाखामा दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निःशुल्क गर्नुपर्ने छ । सो भन्दा बढी संख्याका घरधनीलाई अनुदान वितरण गर्दा प्राधिकरणले प्रति घरधनी २ सय २५ रुपैयाँका दरले सम्बन्धित बैंकलाई भुक्तानी दिने व्यवस्था मिलाउनेछ ।

सम्झौता सम्पन्न भएका गाविस तथा नगरपालिकाका सचिव तथा वडा सचिवहरुबाट प्राधिकरणले तोकेको फाराममा सम्झौता गरेका घरधनीहरुको नामावली सहितको विवरण सम्बन्धित बैंक तथा जिल्ला विकास समितिमा पठाइनेछ । सोही नामावलीको आधारमा जिल्ला विकास समितिले अनुदान भुक्तानी दिनेछ । बैंकहरुले गाविस वा नगरपालिकाबाट प्राप्त विवरणका आधारमा सम्झौता पत्र र नेपाली नागरिकता प्रमाणपत्र भिडान गरी सम्बन्धित घरधनीलाई रकम उपलब्ध गराउनुपर्ने छ ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समझदारीबाट सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता हुने र यसले सम्बन्धित घरधनीहरुले छिट्टै अनुदान रकम पाउने वातावरण सिर्जना भएको बताए । कार्यक्रममा बैंकहरुले पनि छिटोभन्दा छिटो आवश्यक तयारी पूरा गरेर भूकम्प प्रभावित क्षेत्रका जनताले छिटो अनुदान रकम पाउने गरी काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्