Logo

काठमाडौंको सामाखुशीमा खुल्यो गरिमाको शाखा, शाखा संजाल २८ पुग्यो

काठमाडौंको सामाखुशीमा खुल्यो गरिमाको शाखा, शाखा संजाल २८ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको सामाखुशीमा शाखा खोलेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको सो बैंकले काठमाण्डौंको सामाखुसीमा २८ औं शाखा बिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमा विकास बैंकलाई विकास बैंकहरुमा सबैभन्दा उत्कृष्ट बनाउन आफुहरु लागि परेको बताए । ‘निलगिरी विकास बैंकसँग मर्जर पुरा गरि सुभेच्छा विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंकलाई मर्जरबाटै विकास बैंकहरुमा उत्कृष्ट बैंक बनाउँछौं,’ उनले भने ।

२०६४ सालमा ३ जिल्लामा वित्तीय सेवाका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको यस बैंकले ८ वर्षको अवधिमा राष्ट्रियस्तरको विकास बैंकमा स्थापित गराउन सफल भएको छ । हाल बैंकको शाखा सञ्जाल स्याङ्जामा ५ शाखा, कास्कीमा ४, पाल्पा, रुपन्देही र बागलुङमा २⁄२ वटा रहेका छन् । त्यसै गरि म्याग्दीमा ४, बर्दघाट शाखा सञ्चालनमा आए पछि नवलपरासीमा ३ शाखा, पर्वतमा ३ र कपिलवस्तु, तनहु र काठमाण्डौंमा एक/एक शाखागरि कुल शाखा संख्या २८ पुग्नेछ । अहिले ५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको बैंकले आफ्नो मुख्यकार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेको छ ।

२२ करोड ७३ लाख रुपैंया चुक्तापूँजी भएको सुभेक्षा विकास बैंकसँग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहितकाम भैरहेको र मर्जर पुरा भए पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजी बिस्तार गर्दै लगिनेछ ।

चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन गरी ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकल १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुदनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्