Logo

बैंकिङ क्षेत्रविरुद्ध भएका अवाञ्छित गतिविधिमा सरकारले कडा कदम चाल्नुपर्छ : सिबिफिन

बैंकिङ क्षेत्रविरुद्ध भएका अवाञ्छित गतिविधिमा सरकारले कडा कदम चाल्नुपर्छ : सिबिफिन



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ क्षेत्रविरुद्ध हुनेगरेका अवाञ्छित गतिविधिमाथि निगरानी बढाउन सरकारसँग आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सिबिफिनले अर्थतन्त्र धराशायी हुनेगरी गरिने यस्ता क्रियाकलापविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने बताएको हो ।

महामारी, युद्धलगायतका पछिल्ला घटनाक्रमले यसै पनि विश्व अर्थतन्त्र शिथिल बनिरहेको अवस्थामा बैंकका कर्जावाहकलाई भड्काउने क्रियाकलापले झन अर्थतन्त्र ओरालो तिर लाग्ने सिबिफिनको भनाई छ । वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको सिबिफिनको भनाई छ ।

बैंकिङ क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नुपर्ने कुरा बिज्ञप्तिमा उल्लेख छ । यसका लागि सरकारले कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न गर्नुपर्ने माग सिबिफिनको छ ।

‘देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारको रुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौं ।’ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्