काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन २५ अर्बले बढेको हो ।
नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्क अनुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।
सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप ८ अर्बले घटेर ४७ खर्ब ८ अर्ब रुपैयाँ पुगेको थियो । पहिलो साता घटेको निक्षेप दोस्रो साता १२ अर्ब, तेस्रो साता ३ अर्ब र चौथो सातामा ४ अर्ब रुपैयाँले बढेको थियो । माघको बाँकी २ दिन माघ २८ र २९ गते थप १४ अर्बले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।
माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए । पुस महिनाको तुलनामा माघ महिनामा १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ । माघमा बैंकहरूले १२ अर्ब कर्जा बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा ४२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो ।रासस