काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २९ गते आफ्नो ६३औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो ।
उक्त दिन आह्वान गरिएको सभाले गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १२ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्ने बताईएको छ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँको आधारमा १० प्रतिशत कर समेत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस वर्ष बैंकले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कुल १७ प्रतिशत लाभांश वितरण गरेको बैंकले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले नगद लाभांशमा जोड दिएको छ ।
बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।