काठमाडौं । केहि दिनदेखि माछापुच्छ्रे बैंकसँग सम्बन्धी समाचारका बारेमा बैंकले विज्ञप्ति जारी गरेर ध्यानआकर्षण गर्दै सम्बन्द्ध प्रतिनिधि नै दोषी रहेको जनाएको छ । बैंकले रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिनै दोषी रहेको जनाएको हो ।
यसबारे बैंकले शनिबार प्रष्टीकरण दिँदै दोषीविरुद्ध कारवाही अघि बढाइएको उल्लेख गरेको हो। रकम हिनामिना घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ ।
बैंकले रुपन्देहीको समरीमाई–५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक–२ मजहानामा स्थानीय सर्वसाधारणलाई सुलभ बैंकिङ सेवा दिन राष्ट्र बैंकको सर्तअनुसार शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको थियो । उक्त केन्द्रबाट बैंकिङ सेवा दिनेमा निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको थियो । निरीक्षणका क्रममा प्रतिनिधिहरुबाट भएका काममा कैफियत देखिएपछि उक्त सेवा केन्द्र बन्द गरिएको व्यहोरा बैंकले जनाएको छ ।
उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाइममा जम्मा हुने र सिस्टममार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई दिनुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरेको खुलेको बैंकले शनिबार जारी गरेको सूचनामा उल्लेख छ । निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाइमासेको व्यवहोरा लिखितरूपमा नै स्वीकार गरिसकेकाले उनीहरुले स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ । ग्राहकलाई हस्तलिखित भौचर दिने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैं राख्ने गरेको पाइएकाले उनीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिइसकेको बैंकले जनाएको छ ।