काठमाडौं । सरकारले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना र संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि कार्यदल गठन गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका विज्ञ सल्लाहकार डा. शालिकराम पोखरेलको संयोजकत्वमा ३ जनाको कार्यदल बनाएको हो । जसमा पोखरेल बाहेक अर्थ मन्त्रालयका सहसचिव देवकुमार राई र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल छन् ।
चालु आर्थिक बर्षको बजेटमार्फत सरकारले नेपाल सरकारको सेयर स्वामित्वमा रहेको उक्त लघुवित्तको संस्थागत पुनर्संरचना र क्षमता अभिवृद्धि गरिने उल्लेख छ । यस्तै उक्त संस्थामा अब गाउँपालिका र नगरपालिकाले क्रमशः ५० लाख र १ करोड रुपैयाँसम्म लगानी समेत गर्न सक्ने उल्लेख छ ।
यसो हुँदा ग्रामीण भेगका न्युन वर्गका किसानले पनि सहजै कर्जा पाउने उल्लेख गरिएको छ । सोही बुँदालाई कार्यान्वयन गर्नका लागि कार्यदल बनाईएको हो । उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन तथा कार्यविधिको मस्यौदा तयार पार्नुपर्ने छ ।