Logo

एससीटीको कोप कार्ड : अब सहकारीका सदस्यले देशभर एटिएम सुविधा पाउने

एससीटीको कोप कार्ड : अब सहकारीका सदस्यले देशभर एटिएम सुविधा पाउने



काठमाडौं । सहकारी संस्थामा जम्मा गरिएको पैसा पनि अब एटीएममार्फत निकाल्न पाइने भएको छ । बिहीबार राष्ट्रिय सहकारी बैंकको २० औं स्थापना दिवसको अवसरमा यो सुविधाको आरम्भ गरिएको हो । ग्लोबल आइएमई बैंक, स्मार्टच्वाईस टेक्नोलोजी (एससीटी) र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा एटीएमबाट पैसा निकाल्न पाईने गरी कोप कार्डको सुरुवात गरिएको हो ।

हालसम्म १ सय बढी सहकारीहरुले लागु गरिसकेको उक्त एससीटीको कार्ड अब अन्य सहकारी संस्थाहरुलेसमेत लागु गर्न सक्नेछन् । यता ग्लोबल आइएमई बैंकले भने एससीटी कोप कार्ड लागु गरेका सहकारीका ग्राहकहरुले देशभरका बैंकका एटीएमबाट निशुल्क रकम झिक्न सक्नेछन् । बिहीबार एभरेष्ट होटलमा आयोजना गरिएको कार्यक्रममार्फत अन्य बैंकहरुलाई पनि एससीटिको कोप कार्ड सुविधा प्रयोग गर्न आग्रह गरिएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजीले विद्युतीय कारोबारमा एटीएम कार्ड, स्मार्ट क्युआर, मोबाइल बेंकिङलगायतका सेवाहरु दिँदै आएको छ । अब भने एससीटीले सहकारी संस्थाहरुका लागि पनि एटीएम सेवा सुरु गरेको हो । बिहीबार आयोजित कार्यक्रममा बोल्दै स्मार्टच्वाइस टेक्नोलोजीका संचालक सुमन पोख्रेलले सहकारीहरुले एससीटीको कोप कार्ड प्रयोगमा ल्याउने निर्णय गर्नु महत्वपुर्ण मौका रहेको बताए । २० बर्ष अघि निजी क्षेत्रबाट पहिलोपल्ट कार्यान्वयननमा ल्याइएको एससीटीको कार्ड हाल देशभर १० लाख बढी वितरण भईसकेको उनले जानकारी दिए । हाल यसको मार्केटिङमा केही गिरावट आएपनि अझै यसलाई डिजिटलाइजसँग जोड्नका लागि सबै सहकारीहरुसँग जोड्ने प्रयास गरिरहेको उनको भनाई थियो ।

उनले अब एससीटीको सेवा नेपालको पूर्वदेखि पश्चिमका हरेक स्थानसम्म पुर्याउन प्रयास गरिरहेको समेत बताए । ‘सहकारी संस्थाहरुसँग जोडिन पाएकोमा हामी एकदमै खुसी छौं,’ उनले भने, ‘यसले सहकारीका सदस्यहरुलाई देशका हरेक कुनाबाट पैसा झिक्न र विदाका दिनमा पनि वित्तीय कारोबार गर्न सहयोग पुर्याउनेछ ।’

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाइँ सहकारीका सदस्यहरुले शनिबार आफ्नो पैसा निकाल्न र कारोबार गर्न नपाउने गुनासो गरेपछि कोप कार्ड संचालनमा ल्याइएको बताए । उनका अनुसार यससँगै बैंकले आफ्ना विभिन्न सेवाहरु पुर्ण रुपमा डिजिटलाइजेसनमा लैजानेगरि काम गरिरहेको छ । जसमा बैंकले डिजिटलाइजलाई अझै परिष्कृत गरेर सबैसम्म पुर्याउने, यसको वित्तीय प्रशिक्षण दिनेलगायतका कामहरु अघि बढाएको उनको भनाई छ ।

ग्लोबल आइएमई बैंक, एससीटी र राष्ट्रिय सहकारी बैंकको त्रिपक्षिय सम्झौताअनुसार अब ग्लोबल आइएमई बैंकका सबै एटीएम मेशिनबाट सहकारीको कोप कार्ड प्रयोग गरेर पैसा झिक्न सकिने उनले बताए । ग्लोबल आइएमई बैंक र एससीटीको सहयोगले सहकारी क्षेत्रलाई डिजिटलाइजमा परिवर्तन गर्न सहयोग पुगेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले पछिल्लो समय बढिरहेको डिजिटल प्रविधिको प्रयोगले झन बैंक तथा वित्तीय संस्थाहरुलाई परिष्कृत गरिरहेको बताए । उनका अनुसार सबै किसिमले सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले सहकारी क्षेत्रलाई पनि बैंकसँग जोड्न पाउँदा गौरवको महशुस गरेको बताए । उनले अन्य बैंकहरुलाई पनि सहकारीको कोप कार्ड एसेप्ट गर्न सकिने गरी सुविधा उपलब्ध गराउन आह्वान गरे ।

कोप कार्डले कसरी काम गर्छ ?

विगत केही समय अगाडीदेखि एससीटीले एक सय भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सत्रै सदस्यलाई सेवा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरूप यस स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटिएम कार्ड, स्मार्ट कार्ड र मोबाइल बैकिङमार्फत आफ्नो सेवा दिँदै आएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै सुविधा पुर्याउँदै आएकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको छ ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्ट्राक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम, पिओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस ‘कोप कार्ड’ ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरूले जारी गर्नेछन् । यस सहकार्यपश्चात सम्पूर्ण सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी ‘कोप कार्ड’ जारी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL