Logo

‘मर्जर किङ’ चन्द्र ढकाल, जसले ५ वाणिज्य बैंकसहित २१ वित्तीय संस्था गाभ्दै ग्लोबललाई बनाए देशकै ठूलो बैंक

‘मर्जर किङ’ चन्द्र ढकाल, जसले ५ वाणिज्य बैंकसहित २१ वित्तीय संस्था गाभ्दै ग्लोबललाई बनाए देशकै ठूलो बैंक



काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच एकआपसमा मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै देशकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ । दुई बैंकबीच आज आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएसँगै ५२ अर्ब २९ करोड रुपैयाँ कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको हो ।

मर्जर पश्चात चुक्ता पुँजी ३४ अर्ब ४१ करोड तथा कुल निक्षेप ३ खर्ब ८४ अर्ब, रुपैयाँ हुनेछ । यसैगरी बैंकको कर्जा प्रबाह ३ खर्ब ८० अर्ब पुग्नेछ । कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘क’ बर्गको १९ औं बाणिज्य बैंकको रुपमा ग्लोबल बैंकलाई स्थापना गरेका थिए । त्यसयता नेपाल सरकार तथा राष्ट्र बैंकको नीति अनुरुप मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिँदै अघि बढेका अध्यक्ष ढकालले बैंक अफ काठमाडौंसम्म आईपुग्दा २१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई समाहित गराईसकेका छन् । राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई प्राथमिकता दिएसँगै पहिलो पटक बिग मर्जर गराएर जनता बैंकलाई ग्लोबल आईएमई बैंकमा समाहित गराएका ढकालले पुनः अर्को बाणिज्य बैंक बैंक अफ काठमाडौंलाई पनि ल्याएका हुन् । बैंक अफ काठमाडौंसँग मर्जर हुँदा तत्कालिन लुम्बिनी बैंक पनि समाहित भएर आउने छ । साथै ग्लोबलले कमर्ज एण्ड ट्रष्ट बैंकलाई पनि आफुमा समाहित गराएको थियो ।

बीओकेसँगको मर्जरसँगै ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुँदै ग्लोबल आईएमई बीओके बैंक लिमिटेड बन्नेछ । साथै मर्जर तथा एक्विजिशनमा ढकालले आफुलाई सफल अर्थात मर्जर किङको रुपमा स्थापित गराएका छन् । पछिल्लो समय कतिपय मर्जर तथा एक्विजिशन समझदारी पत्रमा हस्ताक्षर गरेर पनि भाडिएको अवस्थामा ढकालले भने सुझबुझपूर्ण तरिकाले अध्ययन गरेर अघि बढेका कारण हालसम्म उनले अघि सारेका मर्जर तथा एक्विजिशन सफल हुँदै आएका छन् ।

आज भएको दुई बैंकबीचको समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । जसमा बैंकको अध्यक्षमा ढकाल नै हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा पनि ग्लोबल आईएमई बैंकका रत्नराज बज्राचार्यनै रहेनछन् । संचालकहरुमा ग्लोबल आईएमईको तर्फबाट ढकालसहित ५ जना र बिओकेको तर्फबाट २ जनाले प्रतिनिधित्व गर्नेछन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । नाफाका हिसावले दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।

दुई बैंकहरुको मर्जरसँगै ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ । मर्जर कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् । साथै ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप बीओकेसँगै मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी दिए । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

यसैगरी कार्यक्रममा बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए । उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । तर नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्ने उनको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL