काठमाडौं । नबिल बैंकको विशेष सधारण सभाले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेकोे छ । बैंकको आज सम्पन्न विशेष सधारण सभाले एनबी बैंक प्राप्ति गर्ने प्रस्ताव पास गरेको छ ।
एनबी बैंक प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ता पिकेएफ टीआर उपाध्याय एण्ड कम्पनीले सिफारिस गरेको शेयर स्वापलाई पनि बैंकको सभाले अनुमोदन गरेको छ ।
प्राप्तिका लागि संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातमा व्यावसायिक अवसरहरू, व्यवसायको प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहासलाई आधार बनाइएको थियो ।
एनबी बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्रदान गर्ने गरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्बको हुनेछ ।
साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।