Logo

आठ बाणिज्य बैंकको वित्तीय विवरण, ग्लोबल आइएमईले पौने ४ अर्ब कमाउँदा अरुले कति कमाए ?

आठ बाणिज्य बैंकको वित्तीय विवरण, ग्लोबल आइएमईले पौने ४ अर्ब कमाउँदा अरुले कति कमाए ?



काठमाडौं । बुधबार बाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०७८।७९ को ९ महिनाको वित्तीय विवरण प्रकाशित गरेका छन् । बुधबार एकैदिन धेरैजसो बाणिज्य बैंकले आ–आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन । जसमध्ये हामीले विभिन्न ८ वाणिज्य बैंकको वित्तीय विवरण केलाएका छौं ।

आज वित्तीय विवरण प्रकाशित गर्ने बाणिज्य बैंकहरुमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा आर्जन गरेको छ । सो बैंकले ९ महिनामै ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

९ महिनामा ग्लोबल आईएमईको ३ अर्ब ७२ करोड नाफा

ग्लोबल आइएमई बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

कुल २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ रहेको छ । हालसम्म बैंकले २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ रुपैयाँ रहेको छ ।

एनसीसीले कमायो १ अर्ब ४८ करोड

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले १ अर्ब ४८ करोड रुपैयाँ कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको सो बैंकले आफ्नो नाफामा ३५ प्रतिशतले वृद्धि गरेको छ । जबकि बैंक गत आवको सोही अबधिमा १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफामा बृद्धि गरेको एनसीसीको प्रतिसेयर आम्दानी पनि बढेको छ । सो अवधिमा बैंकको इपीएस ३ रुपैयाँ ५८ पैसा बढेर १७ रुपैयाँ ८१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ ।

कुमारीले कमायो १ अर्ब ८० करोड

कुमारी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अबधिमा बैंकको इम्पेरमेन्ट चार्ज, कर्मचारी खर्च लगायतका खर्चहरु बढ्दा नाफामा केही दबाब पर्न गएको हो । सो अबधिमा बैंकले कतिपय कर्मचारीलाई भिआरएस अन्तरगत विदाई गरेको थियो । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.७७ प्रतिशत घटेको छ

यस्तै बैंकले आफ्नो निश्क्रिय कर्जा १.०९ प्रतिशतबाट घटाएर ०.९६ प्रतिशतमा झरेको छ । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आउँदै १६ रुपैयाँ ३४ पैसामा झरेको छ । सो अबधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बैंकको निक्षेप १३.४२ प्रतिशत बढेको छ भने कर्जा १३.०८ प्रतिशत बढेको छ ।

हिमालयन बैंकको नाफा १ अर्ब ३९ करोड

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.११ प्रतिशत बढी हो । बैंकले गत आबको सोही अवधिसम्ममा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ७५ पैसा घटेर १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

लक्ष्मी बैंकको नाफा ८५ करोड ८९ लाख

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लक्ष्मी बैंकले ८५ करोड ८९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत बर्षको सोही अबधिमा १ अर्ब २८ करोड रुपैयाँ खुद मुनाफा गरेको सो बैंकको चालु अबको सोही अबधिमा भने ३३.३१ प्रतिशतले गिरावट आएको छ ।

नाफामा उच्च गिरावट आएको सो बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । सो अबधिमा बैंकको प्रसिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रभुले कमायो पौने २ अर्ब

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रभु बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । तर यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत कम हा े। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सो अबधिमा संचालन मुनाफा घट्नुका साथै इम्पेरमेन्ट चार्ज कम रिभर्स भएका कारण समग्र नाफामा असर परेको देखिन्छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ । सो अबधिमा बैंकको चुक्ता पुँजी १२ प्रतिशत बढेको छ ।

बंगलादेश बैंकको नाफा १ अर्ब ११ करोड

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल बंगलादेश बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ नविल बैंकसँग मर्जर प्रक्रियामा रहेको सो बैंकको नाफामा ३२.१८ प्रतिशतले गिरावट आएको छ । जबकि गत अबको सोही अबधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । सो अबधिमा बैंकको इपीएस १० रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा झरेको छ । सो अबधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ ।

अर्बपति क्लबमा सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत अबको सोही अबधिको तुलनमा १८३ प्रतिशतभन्दा बढी हो । जबकि बैंकले गत अबको सोही अवधिसम्ममा ३५ करोड ८१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा बढ्न पुगेको छ । सो अबधिमा बैंकको इपीएस १४ रुपैयाँ १७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL