Logo

नबिल बैंकद्वारा प्रवासी कामदारको स्वास्थ्यबारे कार्यशाला

नबिल बैंकद्वारा प्रवासी कामदारको स्वास्थ्यबारे कार्यशाला



काठमाडौं ।  नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । १५ अप्रिलमा ललितपुरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

ला इस्ला नेटवर्क एक अनुसन्धान र परामर्ष संस्था हो, जसले विश्वभर रहेका कामदार तथा उनीहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत वाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई सम्बोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रमलाई नेपाली मुद्दा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वय समिति तथा विदेशी कुटनीतिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरूका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्रप्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा विभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष तथा समाधानहरूले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यशालाको दौरान जेसनले बढ्दै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराएका थिए । बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउनसक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो माहामारी हुन सक्ने समेत उनको भनाइ थियो । त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण शुरू भएको नयाँ रोगहरूबाट प्रवासी कामदारहरुको स्वास्थ्यलाई जोगाउन सकिने उनको भनाइ छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जिवित जीवहरूमा उच्च मात्रामा देखिन थालेता पनि यसलाई कम गर्नेतर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।

प्रवासी कामदार र विप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै बिषयलाई मध्यनजर राखी बैंकद्वारा संचालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो । बैंकले दिगो विकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको भने यो कार्यशाला पनि समाजमा दिगो बिकासको लागी महत्वपूर्ण रहने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्