काठमाण्डौं । यहि चैत ९ देखि १२ गते सम्म चितवनमा कृषि कर्जा मेला आयोजना हुने भएको छ । कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने उदेश्यले मेला आयोजना हुने भएको हो । उक्त मेलाको आयोजक आर एण्ड डी इनोभेसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन भने मुख्य प्रायोजकका रुपमा नबिल बैंक लिमिटेड र कृषि विकास बैंक रहेका छन । सोमबार आयोजीत पत्रकार सम्मेलनमा कृषकलाइ कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउने उदेश्यले मेला संचालन गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
उक्त मेलाको उदेश्य कृषक र लगानीकर्ता बैंकहरुलाई एकै ठाँउमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गर्नु रहेको छ । यसका साथै कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने एशियामै पहिलो पटक नेपालमा उक्त मेला आयोजना गर्न लागेको आयोजक संस्था आर एण्ड डीले जानकारी दिएको छ । यस्तो खालको मेला विश्वमा भने अमेरीकाको सानफ्रान्सिस्कोमा आयोजना हुने गरेको छ । मेलामा ‘कृषिमा वित्तीय पहँुचको राष्ट्रिय संवाद’ का साथै देश भरीबाट कृषि उद्यमीहरुको सहभागीतामा कार्यशाला समेत आयोजना गरीने आयोजकले कार्यक्रममा जानकारी दिएको छ ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालको भविस्य कृषि र पर्यटनमै रहेकोले यसको विकासकालागि प्रविधि सहित लगानी बढाउनुपर्ने बताए । शाहले विदेशिएका नेपाली दाजुभाईलाई स्वदेशमा फर्काउन प्रविधीमैत्री कृषिमा जोड दिनुपर्ने बताए ।
मेलाले कृषक, बैंक, सेवाप्रदायक र नीति निर्मातावीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने आयोजकको विश्वास रहेको छ । मेलामा एक लाख बढि कृषक आउने र उक्त मेलामा स्टल रहने जानकारी आयोजकले दिएका हुन । मेलामा २० बढी बैंकसँगै १ सय ५० कृषि प्रविधिसँग सम्बन्धित उपकरणका स्टल रहनेछन् ।