काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास बिक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रर्वद्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो भुक्तानी साझेदार स्मार्ट च्वाइस टेक्नोलोजीसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रर्वद्धनका लागि ग्यास विक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो ।
महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।