Logo

भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकको कडाई, अबदेखि ७ दिनभित्रै सम्पूर्ण विवरण बुझाउनुपर्ने

भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकको कडाई, अबदेखि ७ दिनभित्रै सम्पूर्ण विवरण बुझाउनुपर्ने



काठमाडौं । भुक्तानी सेवाप्रदायकहरुले महिना सकिएको ७ दिनभित्र राष्ट्र बैंक समक्ष सम्पूर्ण विवरणहरु पेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा रहेको व्यवस्था संशोधन गर्दै भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई महिना सकिएको ७ दिन भित्र भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्न निर्देशन दिएको हो । यसअघि महिना दिन भित्र बुझाए हुने व्यवस्था रहेकोमा थप कडाई गर्दै ७ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै अबका दिनमा बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन भएको मितिले ७ दिन भित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ । यसैगरी शाखा रहित बैंकिङ केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरण महिना सकिएको ७ दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार ग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरण समेत महिना सकिएको ७ दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL