Logo

बैंकिङ प्रणालीबाट एक महिनामै ७८ अर्ब निक्षेप गायव, कर्जा विस्तार ४३ अर्बले बढ्यो, ब्याजदरमा पर्न थाल्यो चाप

बैंकिङ प्रणालीबाट एक महिनामै ७८ अर्ब निक्षेप गायव, कर्जा विस्तार ४३ अर्बले बढ्यो, ब्याजदरमा पर्न थाल्यो चाप



काठमाडौं । उद्योगी व्यवसायीले कोरोना पछिको लकडाउनले उद्योग व्यवसाय संचालन गर्न कठिन भैरहेको बताई रहँदा कर्जा विस्तार भने बढेको छ । विशेषगरी नेपालका बाणिज्य बैंकहरुले दिने कर्जा पछिल्लो एक महिनामा उच्च वृद्धि भएको छ भने निक्षेप संकलनमा गिरावट आएको छ ।

हाल संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकबाट असारको तुलनामा साउन महिनामा कर्जा विस्तार ४३ अर्ब रुपैयाँले वृद्धि भएको छ । तर सोही अबधिमा बैंकले संकलन गर्ने निक्षेपमा भने गिरावट आएको छ । मासिक रुपमा बैंकहरुले संकलन गर्ने निक्षेपमा वृद्धि हुँदै आएपनि असार महिनाको तुलनामा भने २०७८ साउन महिनामा भने त्यस्तो निक्षेपमा ७७ अर्ब ९२ करोडले गिरावट आएको छ । तथ्याङ्क अनुसार २०७८ असारको तुलनामा साउनका बाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ खर्ब १ अर्ब बाट घटेर ४१ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ भने कर्जा प्रबाह ३७ खर्ब २० अर्ब रुपैयाँबाट बढेर ३७ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

सो अबधिमा सबैभन्दा बढि निक्षेप सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिएको छ । साउन महिनामा राष्ट्रिय बाणिज्य बैंकबाट २७ अर्ब २८ करोड रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । अन्य बैैंकले कर्जा विस्तार उच्च रुपमा बढाईरहँदा सो बैंकको भने कर्जा विस्तारमा पनि गिरावट आएको छ । सो बैैंकको कर्जा विस्तार अघिल्लो महिनाको तुलनामा ४ अर्ब २२ करोड रुपैयाँले गिरावट आएको छ ।
यसैगरी सोही अबधिमा अर्ध सरकारी स्वामित्वको नेपाल बैंकबाट दोस्रो बढि १० अर्ब १९ करोड रुपैयाँ निक्षेप गायव भएको छ । साउन महिनामा प्रभु बैंकबाट ९ अर्ब ५८ करोड रुपैयाँ कर्जा बाहिरिएको छ भने प्राईम कमर्सियल बैंकबाट ७ अर्ब २७ करोड, कृषि विकास बैंकबाट ६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट बाहिरिएको छ । सो अबधिमा आधा दर्जन बैंकले आफ्नो निक्षेप संकलनमा वृद्धि गरेपनि अघिकांश बैंकबाट ठूलो मात्रामा निक्षेप बाहिरिएको छ ।

तर सो अधिमा निक्षेप संकलनमा उच्च गिरावट आएपनि कर्जा विस्तार भने वृद्धि भएको देखिएको छ । पछिल्लो एक महिनामा बाणिज्य बैंकहरुको कर्जा विस्तार ४३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जसमध्ये सिद्धार्थ बैंकले सबैभन्दा बढि ५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुमारी बैंकले ५ अर्ब १२ करोड रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको छ ।

पछिल्लो समय कर्जा विस्तार उच्च रुपमा हुँदा सोही अनुरुप निक्षेप संकलन नहुँदा ब्याजदर वृद्धिमा चाप पर्न थालेको सम्बद्ध बैंकहरुनै बताउँछन् । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलताको चाप पर्न गई सोही अनुरुप ब्याजदर समेत बढ्ने इंकित गरेका थिए । सोही अनुरुप बाणिज्य बैंकहरुले मौजुदा ब्याजदरमा १ देखि २ प्रतिशतसम्म वृद्धि गरिसकेका छन् ।

साउन महिनामा नेपाल भित्रीने रेमिटान्समा गिरावट आएको र सोही अनुरुप सरकारले पनि आफ्नो फ्रिज भएको रकम खिचेका कारण निक्षेपमा गिरावट आएको नबिल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीले बताए । ‘बैंकिङ प्रणालीमा निक्षेप घटबढ भइरहनु सामान्य प्रक्रियानै हो,’ उनले भने, ‘तर यसपटक सरकारको बजेट फ्रिज भएको रकम ताएिको तर पुनः स्थानीय निकायमा नपठाएका कारण बैंकिङ प्रणालीमा नआएको, सस्तो ब्याजदरका कारण माईक्रोफाइनान्सले राख्न निक्षेप घटेकोजस्ता कारणले गर्दा केही बढि गिरावट आएको हो ।’

यसैगरी नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पनि सरकारी राजस्व संकलनमा बैंकिङ प्रणालीबाट पैसा बाहिरिदा बैंकहरुको निक्षेपमा गिरावट आएको बताउँछन् । साथै पछिल्लो समय निक्षेप संकलनमा कमि तथा कर्जाको चाप बढ्दा कर्जाको ब्याजदरमा समेत चाप पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL