काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले तत्काल चुक्ता पुँजी जुटाएर संचालनमा ल्याउन नसके नयाँ लगानीकर्तालाई बिक्री गर्नेदेखि खारेजी (लिक्विडेशन)मा लैजाने तयारी गरेको छ । समस्याग्रस्त क्यापिटल मर्चेन्टमा २०७५ सालमा भित्रिएका प्रबलजङ्ग पाण्डे तथा चिरञ्जीवी थापा लगायतका लगानीकर्ता समुहले लामो समयदेखि आफूले पनि पुँजी जुटाउन नसक्ने र नयाँ लगानीकर्तालाई प्रवेशको लागि समेत मार्ग प्रशस्त नगरिदिएपछि राष्ट्र बैंकले लिक्विडेशेनमा लैजाने तयारी गरेको हो ।
लामो समयसम्म पनि नयाँ लगानीकर्ता समुहले चुक्ता पुँजी जुटाएर संस्था संचालनमा ल्याउन नसकेपछि नयाँ लगानीकर्ता खोजेर बिक्री, मर्जर/एक्विजिशन देखि खारेजीमा लैजाने समेत तयारी गरिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए । ‘हामीले भर्खरै मात्रै क्यापिटल मर्चेन्टमा लगानीकर्ताहरूलाई कि चाडो पुँजी जुटाएर संचालनमा ल्याउनु अन्यथा संस्था छाड्नु भनेर निर्देशन दिएका छौं,’ उनले भने, ‘उनीहरूले मार्ग प्रशस्त गरिदिएमा नयाँ लगानीकर्तालाई भित्र्याएर संचालनमा ल्याउने वा अन्य कुनै संस्थासँग मर्जर तथा एक्विजिशनमा लैजान्छौ ।’ यदि उनीहरूले पुँजी पनि नहाल्ने अनि संस्था छाड्न पनि चाहदैनन् भने लिक्विडिशेनमै लगेर भएपनि समस्या समाधान गरिने मिश्रले जानकारी दिए ।
क्यापिटल मर्चेन्टका लगानीकर्ताहरू ऋणीको कर्जा लिलामी गरेर त्यसबाट उठेको रकमलाई नै पुँजीको रुपमा राखेर संस्था संचालन गर्ने उद्देश्य अनुरूप अघि बढेको देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोही अनुरूप क्यापिटल मर्चेन्टले यहीँ साउन २८ गतेसम्मको समयसीमा दिएर ऋणीहरूलाई आफ्नो ऋणको सावा व्याज भुक्तानी गर्न सूचना प्रकाशित गरेको छ । साथै सो अवधिमा ऋणीहरूलाई नतिरेमा धितो लिलामीको बाटो अपनाउने बताएको छ । तर राष्ट्र बैंकले भने हालका लगानीकर्ता समुहले चुक्ता पुँजी राखेर संस्थालाई समस्याग्रस्तबाट ननिकालेसम्म धितो लिलामी गर्न नदिने बताएको छ । ‘पहिला नयाँ समुहले ६ महिनाभित्र संस्था संचालन गर्छु भनेर लिनुभएको थियो तर ३ वर्ष बित्दा पनि संचालन गर्न सक्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘पहिले कसले कसरी के आधारमा संस्था लिए थाहा भएन तर राष्ट्र बैंकले लगानीकर्ताले चुक्ता पुँजी राखेर संस्थालाई समस्याग्रस्तबाट ननिकालेसम्म धितो लिलामी लगायतका प्रक्रियामा जान दिनेछैन ।’
राष्ट्र बैंकको दायित्व निक्षेपकर्ताको निक्षेप सुरक्षण गर्नुपर्ने रहेको भन्दै सोका लागि जुनसुकै उपाय अपनाउन पनि आफूहरू तयार रहेको समेत मिश्रले जानकारी दिए । सोही अनुरूप राष्ट्र बैंकले ऋणीहरूलाई आफ्नो ऋण चुक्ता गरेर आफ्नो धितो फुकुवा गर्ने बाटो समेत खुला गरिदिएको उनले जानकारी दिए । फाइनान्समा तत्कालीन प्रबन्ध संचालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसीले नक्कली ऋणी खडा गरी कर्जा दुरुयोग गरेका थिए । अब तिनै नक्कली ऋणीले समेत चाहेको खण्डमा कर्जा चुक्ता गरी धितो फुकुवा गर्न सक्ने समेत मिश्रले जानकारी दिए । ‘अहिले जग्गाको मूल्य पहिलाको तुलनामा उच्च बढेको छ,’ उनले भने, ‘संस्थाले सस्तोमा लिलामी गरेर सम्बद्ध ऋणीहरूलाई समस्यामा नपारुन भनेर हामीले उक्त सुविधा दिएका हौं ।’
क्यापिटल मर्चेन्टका लगानीकर्तालाई आवश्यक चुक्ता पुँजी जुटाएर संस्थालाई समस्याग्रस्तबाट निकालेर संचालनमा ल्याउनलाई पटक पटक ताकेका गर्दापनि वेवास्ता गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘हामीले नयाँ भित्रिएका लगानीकर्ता समुहसँग धेरै क्यापिटल मर्चेन्टलाई संचालन गर्ने विषयमा धेरै पटक छलफल गर्यौ तर उनीहरूले पुँजी जुटाएर संचालनमा ल्याउन सक्ने अवस्था देखिएको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब हामी कुर्न सक्दैनौ तसर्थ संस्थामा नयाँ लगानीकर्ता भित्र्याएर चलाउने वा उनीहरूले त्यसो गर्न दिँदैनन् भने लिक्विडेशनमा लैजानुको विकल्प छैन ।’
राष्ट्र बैंकले २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा नयाँ लगानीकर्ता भित्रिएको थियो । सोही अनुरूप राष्ट्र बैंककै निर्देशनमा सेयर कारोबार फुकुवा गर्दै २०७५ साल असोज ४ गते नेप्सेमा संस्थापक सेयर कारोबार हुँदै नयाँ लगानीकर्ता भित्रिएका थिए । कुल साढे ९३ करोड चुक्ता पुँजी रहेको सो क्यापिटल मर्चेन्टलाई तत्कालीन समयमा बहुमत सेयर नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य प्रबलजङ्ग पाण्डे, गैर आवासीय नेपाली चिरञ्जीवी थापा, म्यानपावर व्यवसायी संघका पूर्व अध्यक्ष तिलक रानाभाटलगायतका समुहले संस्थापकतर्फका ७० प्रतिशत सेयर खरिद गरेका थिए । जसको बहुमत सेयर पाण्डेले खरिद गरेका थिए । तर उनीहरूले संस्था संचालन गर्नुभन्दा पनि धितोमा भएको जग्गा बिक्री गरेर पैसा कमाउने धन्दामा लाग्दा थप अन्यौलता भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । हाल उक्त संस्थामा धितोको रुपमा नगरकोट, छम्पी, चागुनारायण, डुकुछापमा गरी कुल ५९४ रोपनी जग्गा छ ।
सो समुहले उक्त फाइनान्सको संस्थापक समुहको ७० प्रतिशत हिस्सा सेयर प्रतिकित्ता मूल्य २२ रुपैयाँमा खरिद गरेको थियो । उक्त समुहले ६ महिनाभित्रै सञ्चालनमा ल्याउनेगरी उक्त फाइनान्समा प्रवेश गरेपनि हालसम्म चुक्ता पूँजीनै जुटाउन सकेका छैनन् । हाल संस्थामा बैंक तथा वित्तीय संस्था, नेपाल आर्मी, नागरिक लगानी कोष, नेपाल राष्ट्र बैंक तथा सर्वसाधारणको गरी ७४ करोड निक्षेप रहेको छ । यसैगरी ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको छ । तर पाण्डे थापा समुहले खरिद गरेको ३ बर्ष बित्दा पनि उक्त संस्था संचालनमा ल्याउन नसक्दा निक्षेपर्ताको निक्षेपनै डुब्ने खतरा बढेको छ । तत्कालीन समसयमा प्रबलजङ्ग पाण्डेको संस्थाको बढी हिस्सा ओगटेका थिए ।
उनीहरूले संस्था खरिद गरेसँगै चिरञ्जी थापालाई अध्यक्ष बनाएका थिए । तर थापा अध्यक्षबाट बाहिरिएर पछि २०७७ भदौं २८ गते निरञ्जन सिंह वस्नेतको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको थियो । जसको सदस्यहरुमा जगत खनाल, आनन्दराज रेग्मी, रञ्जन रायमाझी र कैलाश भट्ट रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने राष्ट्र बैंककै पूर्व कर्मचारी रविन्द्र खनाल रहेका छन् ।