Logo

सानिमा बैंकले स्थापना गर्यो प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, पुरस्कार राशी ५ लाख

सानिमा बैंकले स्थापना गर्यो प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, पुरस्कार राशी ५ लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आगामी बर्षदेखि प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । सानिमा बैंक र प्रेस काउन्सिलले  २० वर्षभन्दा धेरै समयदेखि सक्रिय रुपमा पत्रकारिता गरेका एक जना पत्रकार वा संस्थालाई यो पुरस्कार दिन लागेको हो ।

सोमवार एक कार्यक्रमवीच पुरस्कार वितरणसम्बन्धि सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले हस्ताक्षर गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष आफ्नो नाफाबाट पुरस्कार दिन लागेको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । साथै व्यवसायिक पत्रकारितकाको विकासका लागि बैंकले आफ्नो तर्फबाट पहल थालेको समेत जानकारी दिए ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले देशको आर्थिक विकासमा निजी क्षेत्रका बैंकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । साथै सानिमा बैंकसँगको सहकार्य महत्वपूर्ण भएको जानकारी दिए ।

सो पुरस्कारको छुट्टै सामाजिक महत्व रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले बताए । सो अवसरमा कलाकार एवं बैंकका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बैंकसँग जोडिन आफुहरुका लागि गर्वको कुरा भएको बताए ।

आगामी बर्षदेखि मंसिर २१ गते दिइने सानिमा बैंक पत्रकारिता पुरस्कार छनौट गर्न प्रेस काउनिसलका अध्यक्षको संयोजकत्वमा पाँच सदस्सीय समिति बनाइएको छ ।
सदस्यहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष, बैंकले तोकेका एक प्रतिनिधि, पत्रकारिता वा कानुनका एक विज्ञ सदस्य हुनेछन् ।

त्यस्तै प्रेस काउन्सिलका मुख्य अधिकृत सदस्यसचिवका रुपमा रहन्छन् । पुरस्कार वितरणका लागि मापदण्ड बनाइने र त्यही मापदण्डका आधारमा सक्रिय तथा व्यवसायिक पत्रकारलाई पुरस्कार दिइने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL