Logo

महामारीमा आफुखुशी खर्च गर्न बैंक वित्तीय संस्थासँग पैसा उठाउँदै सीवीफीन, राष्ट्र बैंक भन्छ- ‘त्यस्तै पाईदैन’

महामारीमा आफुखुशी खर्च गर्न बैंक वित्तीय संस्थासँग पैसा उठाउँदै सीवीफीन, राष्ट्र बैंक भन्छ- ‘त्यस्तै पाईदैन’



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन) ले कोरोनाको उपचार तथा रोकथाममा सोहयोग गर्ने भन्दै वैंक तथा वित्तीय संस्थासँग पैसा उठाउन सुरु गरेको छ । कोरोना महामारीपछि हालसम्म चुपचाप बसेको सीवीफीनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको रकम कोरोना उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री खरिदमा खर्च गर्ने पाउने निर्णय गरेसँगै आन्तरिक रुपमा सर्कुलर जारी गर्दै पैसा उठाउन थालेको हो ।

सीवीफीनको वरिष्ठ उपाध्यक्ष भोजबहादूर शाहको अध्यक्षतामा आज बसेको भर्चुअल बैंठकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई पत्र काट्दै उक्त संस्थाको तर्फबाट सहयोग रकम खुलाई प्रतिवद्धता व्यक्त गर्न अनुरोध गरेको छ । ‘चालू आर्थिक बर्ष २०७७ र ७८ को चैत मसान्तसम्मको खुद मुनाफालाई आधार मानी सोको १ प्रतिशत रकमको ५० प्रतिशतले हुन आउने रकमबाट राहत व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ,’ सीवीफीनको आजको बैंठकले निर्णय गर्दै सम्बद्ध बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने राहत सहयोग सम्बन्धी प्रतिवद्धताको आधारमा मात्र स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउन सहज हुने भएकाले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको बोर्डमार्फत उल्लेखित रकम व्यवस्थापनका लागि अबिलम्ब विशेष पहल अघि बढाउन अनुरोध छ ।’

सीबीफीनमा सम्बद्ध बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा संचालकनै पदाधिकारी रहने र सोको निर्णय बैंक व्यवस्थापनले गर्ने हुँदा उक्त रकमको दुरुपयोग हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कोरोना महामारी यति ठूलो रुपमा फैलिदासम्म सीबीफीन चुप लागेको बसेको थियो,’ एक बैंकका सीईओले भने, ‘जब राष्ट्र बैंकले सीएसआरको रकम कोरोनाको उपचारमा खर्च गर्न पाउने व्यवस्था गरिदियो अहिले त्यसैमा हालीमुहाली गर्न सीवीफीन तातेको देखियो ।’ लाखौ लगानीकर्ताको लगानी रहेको बैंकको पैसा कुनै एउटा आईएनजीओमार्फत खर्च गर्दा त्यसको दुरुपयोग हुनुका साथै बैधानिकता माथि नै प्रश्न उठ्ने समेत ती सीईओको भनाई थियो ।

यसैगरी नियमक निकाय नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको पैसा कुनै अर्को संस्थामार्फत खर्च गर्न नपाउने स्पष्ट पारेको छ । ‘राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले सीएसआर अन्तरगत प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई तरिकाबाट खर्च गर्न पाउँछन्,’ राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता देबकुमार ढकालले बिजखबरसँग भने, ‘अहिले कोरोनाको उपचार तथा रोकथामका लागि बैंकहरुलाई सीएसआरको रकम खर्च गर्न जुन अधिकार दिइएको छ उक्त रकम बैंक तथा वित्तीय संस्थाले अन्य संस्थामार्फत खर्च गर्न पाउनेछैनन् ।’

ढकालका अनुसार राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफुले कोरोना उपचार तथा रोकथाम सम्बन्धी स्वास्थ्य सामग्री खरिद तथा सहयोगमा सम्बन्धित संस्थामार्फत सिधै खर्च गर्नुपर्ने छ । ‘यदि बैंक तथा वित्तीय संस्थाले त्यसरी सीएसआर अन्तरगत हुने खर्च बैंक तथा वित्तीय संस्था परिसंघ वा अन्य कुनै अर्को संस्थामार्फत खर्च गर्न पाईदैन,’ उनले भने, ‘त्यसरी गरिएको खर्च सीएसआर अन्तरगत खर्चमा लेखांकन गर्न नपाउने र त्यसको जिम्मेवारी सम्बन्धित बैंक तथा वित्तीय संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन नै हुनेछन् ।’

यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि बैंकले स्वास्थ्य समग्री खरिदबा लागि सीवीफीनलाई पैसा दिन नसक्ने बताउँछन् । ‘हामीले सबै बर्गका बैंक तथा वित्तीय संस्थासँग एक आपसमा सरसल्लाह गरेर आवश्यकताको आधारमा आफैले सामान खरिद गरेर सम्बन्धित अस्पताल तथा अवश्यक परेको स्थानमा हस्तान्तरण गरिदिने हो,’ उनले भने, बैंकको नियम अनुसार सीबीफीनलाई पैसा दिन मिल्दैन र हामी दिँदैनौं पनि ।’ साथै बैंकले सामान खरिद गरेर सीबीफीनमार्फत समेत वितरण गर्न नमिल्ने उनको तर्क थियो । तर सबै बैक तथा वित्तीय संस्था र सीवीफीनको संयुक्त कार्यदलले अहिलेको महामारीमा कुन प्रोजेक्टका लागि केकस्ता सहयोग गर्नुपर्ने हो त्यसको निचोड निकालेर बैंकले नै सम्बन्धित संस्थालाई नै सहयोग गर्ने समेत दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL