Logo

बैंकहरुले निष्क्रिय खाता पनि संचालनमा ल्याउन पाउने, सीएसआरको पैसाबाट स्वास्थ्य सामग्री किन्न सकिने

बैंकहरुले निष्क्रिय खाता पनि संचालनमा ल्याउन पाउने, सीएसआरको पैसाबाट स्वास्थ्य सामग्री किन्न सकिने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले यसअघि निष्क्रिय रहेका ग्राहकका खाता समेत संचालनमा ल्याउन पाउने भएका छन् । कोभिड–१९ बाट विकासित भएको असहज परिस्थितिलाई मध्यनजर गरी ग्राहक पहिचान अद्यावधिक नभएका कारण निष्क्रिय भएका बैक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सक्ने भएका हुन् ।

यस अघि ग्राहक पहिचान अद्यावधिक नभएको खण्डमा सम्बन्धित ग्राहकनै बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था भएकोमा अहिले डिजिटल माध्यमबाटै अद्यावधिक गर्न सकिने व्यवस्था गरेको हो । उक्त व्यवस्थाका कारण विदेशमा रहेर आफ्नोे केवाईसी अपडेट गर्न नसकेका तथा कोरोनाका कारण बाहिर निस्कन नपाएका ग्राहकहरुलाई आफ्नो खाता अपडेट गर्न सहज हुनेछ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने छ । यसअघि बैंकहरुले बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर घटबढ गरेर पनि आफ्ना ग्राहकलाई सूचना नदिएको गुनासो बढेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै उक्त व्यवस्था गरेको हो ।

यसैगरी राष्ट्र बैंकले हाल देखिएको कोरोना महामारी रोकथामका लागि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत छुट्याएको कोषको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्चगर्न सक्ने व्यवस्था मिलाइएको छ । हालको विषम परिस्थितिलाई दृष्टिगत गरी राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने गरी खर्च गर्न पाउने भएका छन् । साथै त्यस्तो रकमलाई जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध गराईने भएको छ ।

तर नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतीपत्र प्राप्त संस्थाहरुको प्रभावकारी अनुगमनका लागि भुक्तानी प्रणाली सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी छुट्टै विनियमावली र कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएने भएको छ । साथै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वित्तीय साक्षरता अभिवृद्धिको लागि चेतनामुलक कार्यक्रम निर्माण गरी प्रसारण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL