Logo

प्रभु सेलेक्ट फन्डको १० करोड इकाई बिक्री जेष्ठ ५ गतेबाट, अधिकतम ३० कम्पनीमा लगानी गर्ने

प्रभु सेलेक्ट फन्डको १० करोड इकाई बिक्री जेष्ठ ५ गतेबाट, अधिकतम ३० कम्पनीमा लगानी गर्ने



काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको यही जेष्ठ ५ गते देखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएन्डेड योजना हो ।

निष्कासित कुल १० करोड इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख इकाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फन्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको सेयर बजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको सेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फन्ड राखिएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसै मध्येबाट नियमित खरिद बिक्री गरिने पनि कम्पनीले जनाएको छ ।

प्रभु सेलेक्ट फन्ड कस्तो योजना हो ?

विशेषतः यो एउटा सामुहिक लगानी योजना हो, जसले लगानीकर्ताहरुलाई युनिट बिक्री गरी संकलन गरेको रकमलाई भ्यालु भएका तथा ग्रोथ गर्ने सम्भावना रहेका कम्पनीहरुका साथै प्रतिफलका हिसाबले उच्च प्रतिफल सिर्जना गर्न सक्ने तथा वितरण गर्न सक्ने कम्पनीहरुको छनौट गरी लगानी गर्छ । यसरी तयार गरीएको लगानी पोर्टफोलियोलाई बजारमा आउने सामान्य उतार चढावहरुले खासै असर नगर्ने किसिमले संरचना तयार गरिने भएको हुँदा योजनामा सहभागी लगानीकर्ताहरुले तुलनात्मक रुपमा आफ्नो लगानी सुरक्षित तथा उच्च प्रतिफलयुक्त रहेको पाउनेछन् ।

यो फन्डको उद्देश्य के हो ?

सर्वप्रथम त योजना अन्तर्गत छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउने छ ।

यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ?

यो योजनाले नेपाल धितोपत्र वोर्डले जारी गरेको सामुहिक लगानी कोष नियमावलीले तोकेको निम्नानुसारका क्षेत्रहरुमा लगानी गर्नेछ ।
–बोर्डमा दर्ता भएको धितोपत्र
–सार्वजनिक निष्काशन भएको धितोपत्र
–धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र
–नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी​ विल तथा मुद्रा बजारका अन्य साधनहरु
–बैंक तथा वित्तीय संस्थामा निक्षेप
–मुद्रा बजार उपकरण
–बोर्डले तोकिदिएको अन्य क्षेत्र आदि ।
तर, यसरी लगानी गर्दा फन्डले अधिकतम ८० देखि १०० प्रतिशतसम्म धितोपत्र विनियम बजार अर्थात नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्ये अधिकतम ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ ।

कम्पनीको छनौट गर्दा अबलम्बन हुने रणनीति कस्तो छ ?

फन्डले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबारका लागि उपलब्ध कम्पनीहरु मध्येबाट लगानी गर्नुपूर्व आधारभूत तथा प्राविधिक विश्लेषण गरी कम्पनीहरु वर्गीकरण गर्छ । वर्गीकरण गरेका कम्पनीहरु मध्येमा कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समय अन्तरालमा बजार सूचक भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका सेयरहरु छनौट गरी त्यसलाई लगानी नीति अन्तर्गत रहने ग्रेडिङ्गको पारामिटरमा राखी त्यसबाट पुनः छनौट हुनेछ । यसरी छनौट गर्दा मुख्यतः भ्यालु र ग्रोथका आधारमा अब्बल देखिने कम्पनीहरु मध्येबाट पनि अधिकतम ३० वटा उत्कृष्ट कम्पनीहरु छनौट गरिनेछ ।

प्रभु सेलेक्टिभ फन्डमा नै किन लगानी गर्ने ?

बजारमा धेरै सामुहिक लगानी कोषहरु अहिले सञ्चालनमा छन् । ती सबै योजनाहरु आ–आफ्नै प्रकृतिका छन् । तिनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै छ । प्रभु सेलेक्टिभ फन्डको पनि प्रकृति अरु भन्दा भिन्न छ साथै यसको उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फन्डहरुको भन्दा भिन्न छ । अन्तर्राष्ट्रिय पुँजी बजारमा हेर्ने हो भने ग्रोथ र भ्यालु वेस्ड लगानी रणनीतिलाई उत्कृष्ट रणनीति मानिन्छ । तसर्थ पनि लगानीकर्ताहरूले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यस्तो रणनीति युक्त म्युचुअल फन्डहरुलाई बढि महत्व दिएको पाइन्छ । क्यापिटलका अनुसार प्रभु सेलेक्टिभ फण्डले औषतमा वार्षिक २० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ ।

आवेदन दिने प्रक्रिया

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । तर हाल कोभिड महामारीका कारण अधिकांश बैंक वित्तिय संस्थाका शाखाहरु बन्द भएको हुँदा सिडिएससीले प्रदान गरेको मेरो सेयरमा लगइन गरेर समेत आवेदन दिन सकिन्छ ।

मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरूले मेरो सेयरमा गई माई आस्बा भित्र क्लिक गरेर प्रभु सेलेक्ट फन्डको बायाँतर्फ रहेको एप्लाई बटनमा क्लिक गरी खुलेको फारममा आवश्यक विवरणहरू राखेर आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL