Logo

वीर अस्पतालमा चौधरी फाउन्डेसन र नबिल बैंकको सहयोग, १८ शैयाको आईसीयू र अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौता

वीर अस्पतालमा चौधरी फाउन्डेसन र नबिल बैंकको सहयोग, १८ शैयाको आईसीयू र अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौता



काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो ।

अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर-प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए । “कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,” उनले भने, “हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।”

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई धन्यवाद दिए । “यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको निर्णयलाई हामी हृदयदेखि नै स्वागत गर्दछौं । यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने ।

अक्सिजन प्लान्ट स्थापना गर्न लागेको नबिल बैंकका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे । “जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ । त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL